यात्रा संस्मरणः श्रद्धाको यात्रा गंगासागरदेखी पुरीसम्म

चार धामहरू हिन्दू धर्ममा अत्यन्तै पवित्र र महत्वपूर्ण तीर्थस्थलहरू हुन । यी चार धामहरू भारतभरि चार दिशातिर फैलिएका छन् र तीर्थयात्रा गर्नेहरूले जीवनमा एकपटक अवश्य जानुपर्ने मानिन्छ । यी चार धामहरूलाई आदि शंकराचार्यले व्यवस्थित रुपमा प्रचलनमा ल्याएको विश्वास गरिन्छ ।
प्रथम बद्रीनाथ (उत्तर), उत्तराखण्ड राज्य, अलकनन्दा नदीको किनारमा मुख्य देवता भगवान विष्णु (बद्री नारायणको रूपमा) यो तीर्थस्थल हिमालयको काखमा अवस्थित छ र चिसो मौसममा वर्षको केही समयमात्र खुला रहन्छ । दिप्तीय रामेश्वरम् (दक्षिण) स्थान तमिलनाडु राज्य, पाम्बन टापुमा, मुख्य देवता भगवान शिव (रामनाथस्वामीको रूपमा) रामायण कथाअनुसार भगवान रामले यहाँ शिवलिंग स्थापना गरेका थिए लङ्कामा युद्ध जानुअघि । तृतिय पुरी (पुर्व) स्थान ओडिशा राज्य, बंगालको खाडीको किनारमा, मुख्य देवता भगवान जगन्नाथ (भगवान विष्णुको अवतार) यहाँको वार्षिक रथयात्रा विश्वप्रसिद्ध छ, जहाँ विशाल रथमा भगवानलाई यात्रा गराइन्छ । चतुर्थ द्वारका (पश्चिम) स्थान गुजरात राज्य, अरब सागरको किनारमा मुख्य देवता भगवान कृष्ण, द्वारका भगवान कृष्णको राजधानी भएको पौराणिक मान्यता छ । यी चार धामहरूलाई जीवनको चार दिशामा फैलिएको धार्मिक यात्राको प्रतीक पनि मानिन्छ । हिन्दू धर्ममा विश्वास गर्नेहरूले यी सबै धामको यात्रा गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।
मेरी आमाले अन्य विभिन्न प्रमुख तीर्थस्थलहरूको दर्शन पहिले नै गरिसक्नुभएको थियो, तर जगन्नाथपुरीको यात्रा बाँकी थियो । गत वर्ष आमा कामाख्याको यात्रा गर्न जानु भएको थियो, त्यतिबेला आमालाई थोरै असजिलो महसुस भएको थियो, अलि विरामी पनि पर्नुभएको थियो । त्यो क्षणले मेरो मनमा अबको धार्मिक यात्राहरू आमासँगै गर्नुपर्छ भन्ने इच्छा प्रकट भो । धार्मिक यात्रा केवल यात्रा वा गन्तव्य मात्रै होइन, समग्र संयोजनको सफल परिणाम हो । माध्यम (जस्तो सवारी साधन), संगी साथी (जसले यात्रा रमाइलो बनाउँछन), बसोबासको व्यवस्था, खानपानको चाँजो–पाँजो—यी सबै पक्षहरू मिलेर मात्र यात्रा सफल र सार्थक बन्छ । त्यसैले, यो केवल स्थलको दर्शन मात्र नभएर, त्यो यात्रामा हुने साथ, सम्झना, र समर्पण पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आमाको सान्निध्यमा धार्मिक यात्रा गर्नु भनेको मलाई लाग्छ भौतिक मात्र नभई आत्मिक उन्नतिको बाटो समात्नु हो । यात्रा सफल पार्न सबै पक्षको व्यवस्थापन आवश्यक हुन्छ र तिनै व्यवस्थापनमा साथ दिन सक्ने उपयुक्त पात्रको खोजी सुरु भयो । विगतमा पनि धार्मिक यात्रामा निरन्तर संलग्न भइ सक्नुभएका नारायण सापकोटाजीको नाम स्वाभाविक रूपमा अगाडि आयो । उहाँको यात्राप्रतिको उत्साह, अनुभव, र समर्पणले नै मलाई उहाँप्रति विश्वास दिलायो । उहाँको फुर्सदिलो समय मिलाउने प्रयत्न हुँदै गर्दा, प्रारम्भमा माघे संक्रान्ति (६ महिना अगाडि) मा यात्रा गर्ने सोच बनाइएको थियो । तर विभिन्न कारणले गर्दा त्यो योजना तत्काल कार्यान्वयन हुन सकेन । अन्ततः सबैको सहमति, परिस्थिति, र समयको मेलमिलापले २०८२ साल आषाढ ४ गतेदेखि ११ गतेसम्मको मिति निश्चित भयो । त्यसैअनुसार हामीले यात्राको तयारी सुरु गर्यौं—शरीर, मन, र समर्पण तीनवटैलाई तयार बनाउँदै।
धार्मिक यात्राको कुरा मात्र हुँदा पनि मनमा उत्साह भरिन्छ, अनि जब यात्रा आफ्ना आत्मीयहरूसँग सँगै हुने भयो, त्यो उत्साह रोमाञ्चमा बदलिन्छ । साथी–संगी, नजिकका छरछिमेकी, सुख–दुखका सहयात्री, र आफन्तहरू मिलेर २२ जनाको टोलि तयार भयो । सबैले आ–आफ्ना व्यापार, जागिर, र व्यक्तिगत व्यस्तताहरूलाई केही दिनका लागि थाँती राखे, र एक साझा उद्देश्यका साथ यात्रामा निस्कने निर्णय गरियो । असारको महिना थियो गर्मिको झुल्का र बर्सातको आशंका दुवै थिए । तर ती मौसमका सम्भावित अवरोधहरू भन्दा पनि मनमा २२ जना आत्मीय पात्रहरूसँगको यात्रा कति रमाइलो होला भन्ने विश्वास बढी प्रबल थियो । धेरैजना पहिलो पटक यति टाढाको धार्मिक यात्रामा निस्किएका थियौं । नयाँ अनुभव, नयाँ ठाउँ, र आ–आफ्ना आस्थाका गहिरा भावनाहरू बोकेर सबैजना हर्ष र श्रद्धाको यात्रामा अघि बढ्न तयार थियौं ।
असार ४ गते, बिहानको ५ बजेसँगै हाम्रो धार्मिक यात्रा औपचारिक रूपमा सुरु भयो । घरको ढोकामा ताल्चा लगाउँदा मनमा अनेकौँ भावनाहरू उर्लिए—कुनै न्यानो स्पर्श छुट्दैजस्तो, कुनै अभिन्न हिस्सा केही दिनका लागि टाढिँदैजस्तो । तर जब सबैजना मिलेर बाटो लाग्यौं, त्यो व्यक्तिगत गहिराई सामूहिक उत्साहमा परिणत भयो । टोलीको ऊर्जा र आत्मीयताको माहोलमा हामी एक–अर्काको साथमा रमाउँदै, श्रद्धाको बाटोमा अघि बढ्यौं । घरको व्यस्तता भन्नु नै यस्तो रहेछ जति गरे पनि बाँकी नै रहने । तर यसपटक हामी सबैले आफ्नो घरपरिवारलाई राम्ररी व्यवस्थित गरी ढुक्क हुँदै निस्किएका थियौं । यस्तो मौका बारम्बार आउँदैन, र आउँदा पनि यसरी सामूहिक रूपमा आउँदैन । हामी करिब बिहान १०.३० बजे रक्सौलबाट रेल यात्रा सुरु गर्यौं । रेलको सिटमा बसेर जब झ्यालबाट दृश्यहरू फेरिंदै जान थाले, तब मात्र लाग्यो अब साँच्चै यात्रा सुरु भएको हो । ट्रेनको गति जति थियो, त्योभन्दा तेज मनमा बहिरहेको रोमाञ्च थियो एक पवित्र गन्तव्यतर्फको सामूहिक यात्रा ।
यात्रा केवल गन्तव्यको कुरा थिएन यो त हामीले आफैंले बनाएका ब्यन्जनहरूको स्वाद चाख्ने अवसर पनि थियो । हामी आफैंले तयार पारेका खाद्य सामग्रीहरू साथ लगेका थियौं । यात्राको दौरान स्वस्थ्यलाई ध्यानमा राख्दै, जहाँ बस्ने योजना बनायौं, त्यहाँ पनि आफैं खाना पकाउने निर्णय गर्यौं । त्यो निर्णय केवल स्वास्थ्यको कुरा थिएन त्यो आत्मनिर्भरता र आपसी समझदारीको प्रतीक पनि थियो । साथीहरूले घरबाट प्रेमसहित तयार पारेका ती परिकारहरू ट्रेनमै बाँडीचुडी खाँदा, त्यो स्वाद केवल स्वादिष्टता मात्र नभएर साथको मिठासले भरिएको थियो । कोही गफमा रमाइरहेका, कोही भजनमा तन्मय, कोही झ्यालबाहिरका दृश्य हेर्दै भावुक यात्रा एक संगठित उत्सवजस्तै बनिसकेको थियो । त्यसरी रमाइरहँदा रात पत्तै नपाई बित्यो । ट्रेनको लयमा आत्माहरू झुलिरहेका थिए । अनि भोलिपल्ट बिहान, हामी कलकत्ता उत्रियौं नयाँ शहर, नयाँ दिन, र त्यो यात्राको अर्को अध्याय सुरु गर्न ।
कलकत्ता पुग्नेबित्तिकै, यात्राको अर्को चरण सुरु भयो । नारायणजीले पहिल्यैबाट सेवा लिईरहनुभएका प्रवेजजीको सहकार्यमा गंगासागर जानका लागि सवारी साधनको प्रबन्ध मिलाइसक्नुभएको रहेछ । हामी सोही सवारीमा चढेर गन्तव्यतर्फ लाग्यौं । कलकत्ताको हाउडा रेलवे स्टेशनबाट हामीलाई हारउड पोइन्टसम्म पुग्न उहाँहरू आफैं आएर हामीलाई लैजानुभयो । सबै कुरा यति सहज र समन्वयित देखिन्थ्यो, लाग्थ्यो यात्रा मात्र होइन, सेवा भावनाले समेत यात्रा पवित्र बनिरहेको छ । प्रवेजजी हामीलाई हारउड पोइन्टसम्म पुरयाउनु मात्र होइन, फर्किने दिन पुनः कलकत्तासम्म पुर्याउन त्यहीँ बस्ने निर्णय लिनु भएको थियो । ती साधारण जस्ता लाग्ने व्यवहारहरू नै यात्रालाई असाधारण बनाउने कुरा हो । हारउड पोइन्टबाट फेरी चढेर करिब ४५ मिनेटको जलयात्रापछि हामी कचुबेरि पुगयौं । फेरी, गंगाको विशाल जलराशिमा तैरिँदा मनमा एक विशेष भाव उठिरहेको थियो नेपालका पहाड, हिमाल र तराईबाट बग्ने नदीनालाहरू अन्ततः यही गंगा नदीमा मिसिन्छन भन्ने सम्झँदा त्यो प्रवाहसँग आत्माको पनि समागम भइरहेको अनुभूति हुन्थ्यो । हामी केवल गंगा पार गरिरहेका थिएनौं, हामी आफ्ना संस्कार, आस्था, र अस्तित्वलाई पनि त्यस पवित्र प्रवाहसँग जोड्दै थियौं ।
कचुबेरिबाट गंगासागरसम्मको दूरी करिब ३६ किलोमिटर । बसयात्रामा हामीलाई करिब ५० मिनेट लाग्यो । यात्रा केही लामो भए तापनि समुद्र नजिकिँदै गर्दा मनमा आउने उत्साह, तीर्थको समीपताले थकान भन्ने कुरा महसुस हुन सकेन । गंगासागर पुगेपछि हामीले कपिलमुनि धर्मशालामा विश्राम गर्ने निर्णय गर्यौं । जब त्यहाँ पुग्यौं, करिब बिहानको ९.३० जति भइसकेको थियो। यात्राले थकित शरीर भए पनि मन भने स्नानस्थल पुग्न अधैर्य थियो । धेरै समयदेखि सुनिँदै आएको त्यो गंगा र सागरको संगम जहाँ गंगा नदीले समुद्रसँग अन्तिम समर्पण गर्छ, जहाँ श्रद्धा, शुद्धता र मोक्षको कामना साथ स्नान गरिन्छ त्यही पावन स्थलतर्फ हामी अघि बढ्यौं ।
संगमस्थलमा हामी करिब एक घण्टा जति पानीमा रमायौं । समुद्रका छालसँगै मनका छालहरू पनि बगिरहेका थिए कहिले भावुकता, कहिले सन्तोष, कहिले पुराना सम्झनाहरू त कहिले जीवनको गहिरा प्रश्नहरूसँग । तर ती सबै भावनाहरूलाई एउटै वाक्यले समेट्न सकिन्थ्यो “हामी पुगेरै छाड्यौं” त्यो नयाँ ठाउँमा नयाँ समुदाय, फरक लवज, फरक पहिरन, फरक भेषभूषा सबै नयाँ थिए । तर श्रद्धा एउटै थियो । ती सबै अपरिचित अनुहारहरूसँग पनि एक अदृश्य नाता बनिरहेको थियो धर्म, आस्था र गंगासागरको संगमले हामीलाई बाँधिरहेको थियो ।
गंगासागर पुगेर स्नान गरेपछि हाम्रो मनको अर्को आकांक्षा थियो कपिलमुनिको मन्दिरको दर्शन । यो स्थान मात्र साधारण स्थल होइन, हिन्दू धर्मको एउटा गहिरो पौराणिक र आध्यात्मिक सन्दर्भ बोकेको तीर्थभूमि हो । कथाअनुसार, यही सागरद्वीपमा ऋषि कपिल मुनि आफ्नो आश्रममा ध्यानस्थ थिए । उता राजा सागरले अश्वमेध यज्ञ गर्दै थिए, जसमा यज्ञको घोडा एकाएक हरायो । घोडाको खोजीमा राजा सागरका ६०,००० पुत्रहरू संसारभरि फैलिए र अन्ततः कपिलमुनिको आश्रम अगाडि बाँधिएको घोडा भेटे । सन्देहको भरमा, ती राजपुत्रहरूले कपिलमुनिमाथि आरोप लगाउँदै अपमानजनक व्यवहार गरे । तपस्वी ऋषिको ध्यान भंग भयो र क्रोधित कपिलमुनिले आफ्ना तपोबलले उनीहरूलाई भष्म गरिदिए । राजा सागरले पछि आफ्ना नातिहरूलाई साँचो बुझ्न पठाए । ती नातिहरू कपिलमुनिको शरणमा पुगे र समाधान खोजे । कपिलमुनिले तिनलाई बताए यदि गङ्गालाई स्वर्गबाट पृथ्वीमा ल्याउन सकियो भने मात्र ती आत्माहरूको उद्धार हुनेछ । यही कथामा आधारित भएर राजा भगीरथको तपस्या, गङ्गा अवतरण, र अन्ततः गङ्गा र समुद्रको संगमस्थलको स्थापना भएको विश्वास गरिन्छ । यसैबेला गंगासागरलाई मोक्षदायिनी तीर्थको मान्यता मिल्यो ।
भनिन्छ कि कपिलमुनिको मन्दिर सन १४३७ मा स्वामी रामानन्दले स्थापना गरेका थिए । यद्यपि, सुरुको मन्दिर हालको स्थानभन्दा टाढा थियो । समयक्रममा गङ्गाको बहाव र समुद्री कटानका कारण कम्तीमा तीनवटा मन्दिर ध्वस्त भइसकेका छन् त्यसैले अहिलेको मन्दिरलाई तुलनात्मक रूपमा जलप्रकोपबाट टाढा राखिएको छ । हामी मन्दिर पुग्दा इतिहास, श्रद्धा र संस्कृतिको गहिरो उपस्थितिको अनुभूति भइरहेको थियो । मन्दिरको प्रांगणमा उभिँदा लाग्थ्यो यो केवल ईंट र पत्थरको संरचना होइन, यो स्थान हजारौं वर्षदेखि श्रद्धाको साक्षी बनेर उभिएको सजीव इतिहास हो ।
कपिलमुनि मन्दिरको दर्शनपश्चात, करिब २.३० बजेको आसपास हामीले पवित्र स्थलमा सरल र स्वादिलो भोजन गर्यौं लामो यात्रा, स्नान, दर्शनपछि त्यो भोजन एक प्रकारको आन्तरिक सन्तुष्टि जस्तै थियो । एकछिन विश्राम गरेर, शरीरलाई अलिक सहज बनाएपछि, हामी गंगासागर टापुमा रहेका अन्य धार्मिक स्थलहरूको अवलोकन गर्न निस्क्यौं । हामीले ईरिक्सामा चढेर त्यो अवलोकन यात्रा सुरु गर्यौं समुद्रको नजिकको त्यो सानो टापु, ई–रिक्साको मधुर गतिमा डुल्दै हेर्नु, एक किसिमको आनन्द आईरहेको थियो । स्थानिय गाइड र रिक्साचालकले हामीलाई करिब १० वटा धार्मिक स्थलहरू देखाए, र यो क्रममा हामीले करिब ४० किलोमिटर दूरी तय गर्यौं । ती स्थलहरूमा कहिले साना मन्दिरहरू, कहिले सन्तहरूको आश्रम, कहिले पुराना मूर्तिहरू, त कहिले आधुनिक पूजा स्थलहरू सबै आ–आफ्नो महत्व र कथा बोकेर उभिएका थिए । त्यो टापु घुम्ने क्रममा, हामीले केवल तीर्थस्थलहरू मात्र अवलोकन गरिरहेका थिएनौं, हामी स्थानिय जनजीवन, संस्कृति, भाषा, व्यवहार र श्रद्धाको विविधता पनि अनुभव गरिरहेका थियौं । त्यो दिनको घुमाइले हाम्रो यात्रा अझ गहिरो, सम्झनायोग्य र अर्थपूर्ण बनायो ।
गंगासागर टापुका पावन स्थलहरूको अवलोकन र तीर्थ स्नानले थकित शरीर र सन्तुष्ट मन लिएर हामी फेरि विश्राम तिर फर्कियौं । त्यो दिनको यात्रा पछि साँझको विश्राम एक किसिमको आन्तरिक मौनता थियो जहाँ बोल्नुपर्ने केही थिएन, केवल महसुस गर्नुपर्ने धेरै कुरा थिए । रात शान्त रूपमा बित्यो । अनि भोलिपल्ट बिहान, गंगासागरको स्वच्छ हावा र समुद्री स्पन्दनसँगै नित्यकर्म सम्पन्न गर्यौं । सादगीपूर्ण भोजनपछि हामी फेरि कोलकातातर्फ फर्कने तयारीमा लाग्यौं । कोलकातामा फर्किएपछि हाम्रो अर्को विशेष तीर्थ अनुभवको अवसर मिल्यो काली मन्दिरको दर्शन । शक्तिको मूर्त रूप मानिने कालीघाट देवीको दर्शनले यात्रा अझ पूरित र सम्पूर्ण जस्तो लाग्यो । कोलकाताको भीड, स्थानीय भाषा, र भक्तजनहरूको लहरबीच उभिएको त्यो मन्दिर–शक्तिपीठको केन्द्रमा हामी केही समय ध्यानस्थ भयौं । त्यो क्षणमा लाग्यो—यात्राको सिङ्गो उद्देश्य केवल गन्तव्य पुग्नु मात्र होइन, आफ्नो भित्रको श्रद्धा, थकान र आशालाई कुनै दिव्य ऊर्जा सामु समर्पित गर्नु पनि हो ।
गंगासागर दर्शन र कोलकाताको काली मन्दिरको आराधनापछि हामी यात्राको अर्को पवित्र गन्तव्य जगन्नाथपुरी तर्फ अगाडि बढ्ने तयारीमा थियौं । अबको रात रेलमै बिताउने तय भयो । साँझपख, हामी जगन्नाथ एक्सप्रेसमा चढ्यौं, जसले हामीलाई करिब ५०० किलोमिटर दक्षिणतर्फ रहेको पुरी शहर पुर्याउने थियो । रेलको भित्री सिटमा बसेर, एक–एक जना आफना झोलासँगै, मनभित्र आ–आफ्नो भाव बोकेर यात्रा गर्दै थियौं । ट्रेनको लय, झ्यालबाहिर रातको अध्यारो, र मनभित्रको उज्यालो—सबै एकअर्कासँग मेल खाँदै थिए । कोही निदाएका, कोही भजनमा हराएका, कोही विचारमा गुम्सिएका त्यो रात यात्राको तरल समयजस्तो लागिरहेको थियो । अन्ततः असार ७ गते बिहानको ५ बजे, हाम्रो ट्रेन पुरी स्टेशनमा रोकिन पुग्यो । झुल्किँदै गरेको उज्यालो, स्टेशनको गडबडी, र मनमा भने एक गहिरो शान्ति किनभने यो त्यो ठाउँ हो जहाँ आमाको अधूरो तीर्थ–इच्छा अब पूरा हुँदैछ ।
पुरी स्टेशनमा बिहानै उत्रिएपछि केही समयमै हामी जेयर श्वामी स्मृतिमा निर्मित श्री गरुडध्वजाचार्य श्री वैष्णव आश्रममा पुग्यौं । त्यसपछि सागर किनारमा पुगेर स्नान, नित्यकर्म सम्पन्न गयौं । त्यो बिहान, सागरको जलले शरीर ताजा बनाएर, हामी मन शुद्ध पार्दै जगन्नाथ मन्दिरतर्फ प्रस्थान गर्यौं । मन्दिर परिसरमा मोबाइल, क्यामेरा, चप्पलजस्ता वस्तुहरू निषेध थिए । त्यसैले ती सबै वस्तुहरू सुरक्षित रूपमा बाहिर नै राखेर हामी लाइन लागेर भित्र प्रवेश गरर्यौं । मन्दिरको अद्भुत सांस्कृतिक संरचना, ढुंगामा कुँदिएका १०औं शताब्दीका कलात्मक मूर्तिहरू हेर्दा मन शान्त, आनन्दित र विस्मित भैरहेको थियो । हरेक पत्थर, हरेक कलाको रेखा मानौँ इतिहासले बोलिरहेको थियो। जब हामी गर्भगृहमा पुग्यौं, मनमा एकछिन संशय उब्जियो जगन्नाथ प्रभु विश्राममा हुनुहुन्छ भने ढोका खुल्ला होला कि नहोला ? तर त्यो क्षण पनि अद्भुत बन्यो ढोका खुल्यो, र हामी सबैले दर्शन गर्ने सौभाग्य पायौं । हामीले पालैपालो पूजा, अर्चना, प्रार्थना गरी पुनः मन्दिर प्रांगणमा फर्कियौं ।
श्री जगन्नाथ मन्दिर भारतको उडिसा राज्यको तटवर्र्ती सहर पुरीमा अवस्थित, हिन्दु धर्मको एक प्रमुख वैष्णव तीर्थस्थल हो । यो मन्दिर भगवान जगन्नाथ अर्थात “जगतका स्वामी” प्रति समर्पित छ, जसलाई भगवान श्रीकृष्णको रूपमा पूजा गरिन्छ । पुरी मन्दिरलाई हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने चार धाममध्ये एक मानिन्छ बाँकी तीन धाम हुन बद्रीनाथ, द्वारका र रामेश्वरम् यस मन्दिरमा वैष्णव सम्प्रदाय, विशेषतः गौडीय वैष्णव परम्पराका अनुयायीहरूको गहिरो श्रद्धा रहँदै आएको छ । यो मन्दिरको स्थापना र परम्परालाई सन्त रामानन्दको धार्मिक प्रभावसँग पनि जोडिन्छ । श्री जगन्नाथ मन्दिरको सबैभन्दा प्रसिद्ध पर्व भनेको रथयात्रा हो । यस पर्वमा भगवान जगन्नाथ, उनका ज्येष्ठ भ्राता बलभद्र र भगिनी सुभद्रालाई तीनवटा भव्य, सुसज्जित र विशाल रथमा विराजमान गराई सहरभरिको नगर यात्रा गराइन्छ । यो दृश्यलाई प्रत्यक्ष हेर्न भारत मात्र होइन, विश्वभरिबाट श्रद्धालु र पर्यटक पुरीमा भेला हुन्छन इतिहासकारहरूका अनुसार, मध्यकालदेखि नै यो उत्सव हर्षोल्लासपूर्वक मनाइँदै आएको छ, र भारतका अन्य विभिन्न वैष्णव मन्दिरहरूमा पनि यसको प्रभाव देखिन्छ । आज पनि यो उत्सव धार्मिक श्रद्धा, सांस्कृतिक एकता, र आध्यात्मिक ऊर्जाको प्रतीक बनेको छ । यस मन्दिरको एक अनौठो परम्परा भनेको मूल देवताको मूर्तिहरू काठबाट निर्माण हुने र प्रत्येक वर्ष नयाँ मूर्तिहरू प्रतिस्थापन गरिने चलन हो, जसले नवीनता र पुनर्जन्मको भावलाई प्रतिविम्बित गर्छ ।
पुरीको जगन्नाथ मन्दिरमा पाइने “महाप्रसाद” भारतकै सबैभन्दा पवित्र र ठूलो सामूहिक प्रसाद मध्ये एक हो । यो प्रसाद केवल भोजन होइन यो ईश्वरको प्रत्यक्ष आशीर्वाद, श्रद्धा र भक्ति भावको स्वरूप हो, जसलाई हिन्दू धर्ममा “अन्न ब्रह्म” मानिन्छ । मन्दिर परिसरभित्र रहेको रसोईघर (भोगशाला) विश्वकै सबैभन्दा ठूलो रसोईघरहरूमध्ये एक हो । यहाँ करिब ५६ प्रकारका परिकारहरू (छप्पन भोग) तयार गरिन्छन, जसमा चामल, दाल, तरकारी, मिठाई, खिचडी, पकवान, लड्डु, पायस आदि समावेश हुन्छन विशेष कुरा के छ भने, यो सबै प्रसाद माटोका भाँडोमा (earthen pots) मा पकाइन्छ र दाउराको आगोमा (traditional firewood) मात्र तयार गरिन्छ । अझ चमत्कारिक कुरा माटोका सातवटा भाँडो एकमाथि अर्को राखेर पकाउँदा, सबैभन्दा माथिको भाँडोको खाना पहिले पाक्छ । वैज्ञानिक रूपमा अनौठो यो तथ्य धार्मिक आस्थामा रहस्यको रूपमा स्वीकृत छ । महाप्रसादको वितरण महाप्रसाद, जसलाई “अन्न ब्रह्म” पनि भनिन्छ, भगवानलाई चढाएपछि सामूहिक रूपमा सबै भक्तहरूमा बाँडिन्छ । यो प्रसाद जात, वर्ग, सम्प्रदाय वा भाषा को आधारमा भेदभाव नगरी समान रूपमा बाँडिने भएकाले यसलाई “समता र एकताको प्रतीक” पनि मानिन्छ । मन्दिर परिसरबाहिर रहेको “आनन्द बजार” भन्ने ठाउँमा यो महाप्रसाद बिक्री गरिन्छ, जहाँ भक्तजनहरूले इच्छाअनुसार किन्न, खाने र बाँड्न सक्छन हामीले पनि दर्शनपछि महाप्रसाद ग्रहण गर्ने सौभाग्य प्राप्त गर्यौं । सादा तर स्वादिलो, धार्मिक तर आत्मीय त्यो भोजनले शरीर मात्र होइन, मन र आत्मासमेत तृप्त भएको अनुभूति भयो । त्यो क्षणमा लाग्यो ईश्वर केवल मन्दिरभित्र होइन, प्रसादको प्रत्येक अन्नकणमा पनि उपस्थित हुनुहुन्छ ।
जगन्नाथ पुरीमा दर्शन पश्चात, हामीले महाप्रसाद सहितको भोजन ग्रहण गर्यौं । त्यसपछि केही विश्राम गरी, साँझतिर अलार मन्दिर र बाटोमै पर्न आएको शिव मन्दिरको दर्शन गरी पुनः आश्रम फर्कियौं । भोलिपल्ट बिहानैदेखि उडिसाका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण सुरु भयो । हामीले पञ्चमुखी हनुमान मन्दिर, विठ्ठल मन्दिर (चन्द्रप्रभा दर्शन), कोणार्कको सूर्य मन्दिर, लिंगेश्वर महादेव मन्दिर र साक्षी गोपाल जस्ता ऐतिहासिक र पौराणिक स्थलहरू दर्शन गर्यौं । यिनीहरूको विस्तृत वर्णन अर्को लेखमा समेट्नेछु किनभने ती सबै स्थानहरू स्वतन्त्र स्मृतिका पात्र हुन । अर्को दिन विश्राम गर्नपट्टि लाग्यौं । शरीर विश्राममा भए पनि मन भने बिदाइको तरंगमा थियो । केही कोसेली किनमेल गरेर साँझतिर हामी कलकातातर्फ लाग्यौं । असार १० गते, हामी पुनः कलकत्तामा थियौं । त्यहाँ लक्ष्मी मन्दिर, अनि एलिजाबेथ मेमोरियल हलको अवलोकन ग¥यौं । एकछिन बजार घुमघामपछि साँझ करिब ३.४५ बजे, हामी मिथिला एक्सप्रेस चढेर रक्सौल फर्कियौं ।
अनि अन्तत असार ११ गते बिहान, जब हामी रक्सौलबाट नेपालको माटोमा प्रवेश गरर्यौं, त्यो क्षण अलौकिक आनन्दको छाल थियो । आफ्नै देशको गन्ध, आफ्नै माटोको चिसोपन, आफ्नैपनको मिठास ती सबै भावना यस्तो बलियो भएर आए कि मन चिच्याएर भन्छ “माटो चुमुँ चुमुँ लाग्यो” । त्यसपछि तयार पारिएको सवारी साधनमा चढेर हामी गढिमाई मन्दिर पुग्यौं । त्यहाँ दर्शनपछि, ज्ञानुआमाको मिठो आतिथ्यता र उहाँकै निवासमा गरिएको आत्मीय भोजनले यात्राको थकान मात्र मेटेन, यात्रा सम्पन्नताको र पूर्णताको स्पर्श पनि गरायो । अनि साँझतिर हामी घर फर्कियौं, तर केवल शरीरले मात्र होइन, मन, आत्मा र श्रद्धाले समेत भरिपूर्ण भएर ।
गैंडाकोट २, नवलपरासी