विजय सामुदायिक शिक्षा सदनद्वारा किशोरी आराम कक्षको सुरुवात

२०८२ असार १९ बिहीबार ०७:२५:०० मा प्रकाशित


नवलपरासी पूर्व । विजय सामुदायिक शिक्षा सदनले किशोरी आराम कक्षको सुरुवात गरेको छ । बिद्यालयको मावि ब्लकको सभाहलमा बुधवार २०८१ को एसईई परीक्षामा उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो भने किशोरी आराम कक्षको पनि उद्घाटन गरिएको छ । विद्यालय उमेरका किशोरीहरु खुलेर आफ्नो समस्या भन्न सक्ने वातावरण अझै पनि बनेको छैन । 


विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन तर उनीहरु आफ्ना समस्या शिक्षक शिक्षिकालाई भन्न नसकेको बेला बिजय सामुदायिक शिक्षा सदनले विद्यालयमा किशोरी आराम कक्षा सञ्चालनमा ल्याए पछि किशोरीहरुको लागि वरदान साबित हुने भएको छ । विद्यालयमा किशोरी आराम कक्ष नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्ने हुदा किशोरीलाई महिनाबारी लगायत तत्काल स्वास्थ्यमा समस्या देखिएमा आराम गर्नको लागि उक्त कक्ष संचालनमा ल्याएको प्रधानाध्यापक चक्रधर पौडेलले बताउनु भयो। आराम कक्ष संचालनमा आएपछि किशोरीहरुलाई महिनाबारी वा अन्य समस्या भएमा तत्काल घर जान पर्ने समस्या पनि हट्ने प्रधानाध्यापक पौडेलले बताउनु भयो। विद्यालयहरूमा किशोरीहरूले महिनावारी भएका बेला आराम गर्नका लागि आराम कक्ष आवश्यक हुन्छ तर गैडाकोटमा धेरै जसो विद्यालयमा किशोरी आराम कक्ष भएको पाईदैन । यो बालिकाहरूको अधिकारभित्र पनि पर्छ तर आराम कक्ष निर्माणमा भने सम्बन्धित निकायको ध्यान गएको देखिँदैन। गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले विजय सामुदायिक शिक्षा सदनले किशोरी आराम कक्षको सुरुवात गर्यो जुन निकै राम्रो कामको शुरुवात भएको बताउनु भयो । 


अब सबै विद्यालयमा सुविधा सम्पन्न किशोरी आराम कक्षको आवश्यकता आफुले महसुस गरेको उपप्रमुख कोइरालाले बताउनु भयो । गैडाकोट आधारभूत अस्पतालमा पनि अब छिट्टै किशोरी आराम कक्ष निर्माणका लागि पहल गरिने कोइरालाले बताउनु भयो । किशोरीलाई चाहिने सेनेटरि प्याड लगायतका सबै समान आराम कक्षमै उपलब्ध हुने बिद्यालय सञ्चालक समिति अध्यक्ष गोपिनाथ खरेलले बताउनु भयो। विद्यालयमै आराम कक्ष संचालनमा आउँदा किशोरीहरुको धरैे समस्याहरु समाधान हुने अध्यक्ष खरेलले बताउनु भयो । 


किशोरावस्थामा महिनावारी मात्रै नभएर शारीरिक परिवर्तन, मानसिक तनाव लगायत अन्य खालका समस्या पनि हुने गरेकाले विद्यालयमै आराम कक्ष संचालनमा आएपछि सहज हुने छात्रा बिद्यार्थीहरु बताउछन् । यसै बिच विजय सामुदायिक शिक्षा सदन बाट २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिदै सम्मान पनि गरिएको थियो । कार्यक्रममा गैडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा सदस्य तथा अभिभावक, उशा परियार , बिद्र्यार्थी जस्मि रेग्मीले मन्तब्य राख्नु भएको थियो । विजय सामुदायिक शिक्षा सहकारिका अध्यक्ष परमेश आचार्य , पूर्व अध्यक्ष माधब प्रसाद पौडेल,टिकाराम कडेल , बिद्यालय सञ्चालक समिति सदस्य , गैडाकोट आधारभूत अस्पतालका मेडिकल अधिकृत आशिष तिवारी,नसिंङ ईन्चार्ज सीता रिजाल , शिक्षक ,अभिभावक , बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो । विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण शिक्षिका रञ्जना लामिछानेले गर्नु भएको थियो।