अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक-एक लाख रुपैयाँले सम्मानित गरेको हो।
अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्दै उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो । जातीय विभेदको केही अवशेषहरु अहिले पनि रहेको बताउँदै उहाँले सामुहिक प्रयासबाटै विभेद हटाउनुपर्नेमा जोड दिनुभयो । संविधानले जातीय विभेदलाई अपराधजन्य गतिविधिको रुपमा व्याख्या गरेको र २०६२-६३ सालपछि जातीय विभेद घट्दै क्रममा रहेको बताउनुभयो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसानपरियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् । महानगरले यसअघि आव २०७७÷७८ मा तीन जोडी, आव २०७८÷७९ मा तीन जोडी, आव २०७९÷८० मा सात जोडी र आव २०८०÷८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।