श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम परिसरमा वृक्षारोपण

२०८२ असार २२ आइतबार १८:३१:०० मा प्रकाशित

गैँडाकोट । श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम गैंडाकोट १० ले धार्मिक वन परिसरमा वृक्षारोपण गरेको छ। आज धार्मिक वन परिसरमा पिपलका बिरुवा १०८ वटा, वरका बिरुवा १०८ र स्वामीका बिरुवा १०८ वटा बिरुवा रोपिएको हो। यस्तै गरेर बेल र अन्य फलफुलका बिरुवाहरू र बहुउपयोगी बिरुवाहरु पनि धार्मिक वन परिसरमा लगाइएको कोटीहोम आश्रमका सचिव नरहरी सापकोटाले जानकारी दिनुभयो । 
आश्रमका कोटीहोम आश्रमका अध्यक्ष प्रेमप्रसाद सापकोटाले हिन्दू धर्मावलम्बीहरूलाई एकै साथ धार्मिक बोट बिरुवाको पूजा गर्न सहज होस् भनेर रोपिएको बताउनुभयो । 


गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बोटबिरुवा र प्रकृति नै हाम्रो वातावरणको सुन्दर पक्ष रहेको र धार्मिक रुपमा पनि यसले महत्व राख्ने भएकाले बोटबिरुवाको रोपण गर्नु राम्रो पक्ष रहेको बताउनुभएको छ । यस्तै उहाँले बोटबिरुवाको रोपण सँगसँगै बोट बिरुवाको संरक्षणमा पनि ध्यान दिन आवश्यकता रहेको बताउनुभयो ।


सो वृक्षरोपण कार्यक्रममा गैंडाकोट वडा नम्बर १० का वडाध्यक्ष देवीदत्त कँडेल, गैंडाकोट वडा नम्बर ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदी त्यस्तै गरेर उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, त्यस्तै गरेर पिठादिश योगी खेचरनाथ, सामुदायिक वन महासंघका केन्द्रीय सदस्य कमलप्रसाद पराजुली त्यस्तै गरेर सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 


कोटी होम आश्रमको अक्षय कोषका लागि कृष्णप्रसाद कण्डेलले ५१ हजार बराबरको सहयोग प्रदान गर्नुभएको छ। उहाँ कोटीहोम आश्रमका पूर्व अध्यक्ष हुनुहुन्छ । यस्तै मुकुन्दसेन सामुदायिक वनले ५१ हजार बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेको छ। 
कार्यक्रमको सञ्चालन कोटीहोम आश्रमका सचिव नरहरी सापकोटाले गर्नुभएको थियो ।