नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता

नवलपुर । नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । नवलपुर जिल्ला अदालतमा अघिल्लो वर्षको बाँकी रहेका ४ सय ४९ वटा मुद्दा र आर्थिक वर्ष २०८१-०८२ मा नयाँ दर्ता भएका १ हजार ३ सय ५३ वटा गरी १ हजार ८ सय २ वटा मुद्दा दर्ता भएका थिए । त्यमध्ये सम्बन्ध विच्छेदका मात्रै ६ सय ४३ वटा मुद्दा रहेका छन् ।
नवलपुर जिल्ला अदालतको तथ्याङ्कअनुसार जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये १ तिहाइभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका आउने गरेको छ । नवलपुर जिल्ला अदालतका स्रेस्तेदार गम्भीर घिमिरेका अनुसार अदालतमा आएका यस्ता सम्बन्ध विच्छेदका मुद्दालाई सकेसम्म श्रीमान श्रीमतीबीच छलफल गराएर पुनमिर्लन गरेर पठाउने गरिएको छ । यसैबीच नवलपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षको बाँकी रहेका ४ सय २६ वटा मुद्दा र आर्थिक वर्ष २०८१-०८२ मा दर्ता भएका ८ सय ७६ वटा मुद्दा गरी १३ सय २ वटा मुद्दा आर्थिक वर्ष २०८१-०८२ मा पछ्यौट भएको नवलपुर जिल्ला अदालतका न्यायाधिश कमल प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
नवलपुर जिल्ला अदालतमा गत वर्षको बाँकी ४ सय ४९ वटा, नयाँ दर्ता भएका १ हजार ३ सय ५३ वटा गरी १ हजार ८ सय २ वटा मुद्दा रहेका थिए । ति मध्ये १ हजार ३ सय २ वटा मुद्दाको फैसाला भएको न्यायाधीश ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार जिल्ला अदालत नवलपुरले यस वर्ष १ हजार ३ सय १५ वटा मुद्दा फैसाला गर्ने लक्ष्य राखेको थियो । नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये गत वर्षको २३ वटा र आर्थिक वर्ष २०८१–०८२ मा दर्ता भएकामध्ये ४ सय ७७ वटा गरी ५ सय वटा मुद्दा फैसाला हुन बाँकी रहेको छ ।फैसाला हुन बाँकी मुद्दाहरूमध्ये सरल किसिमका मुद्दा २ सय ३२ वटा, सामान्य किसिमका मुद्दा २ सय ५३ वटा र विशेष प्रकाशका मुद्दा १५ वटा गरी ५ सय वटा मुद्दा फैसाला हुन बाँकी रहेको न्यायाधीश ज्ञवालीले जानकारी दिनुभयो ।