आफन्तले बुझे शिक्षण अस्पतालबाट २७ जनाको शव, ८ जनाको पहिचान खुलेन

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिनुभयो ।
भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । आगजनीमा परेर तथा नयाँ बानेश्वरमा प्रहरीसँग झडप हुँदा मृत्यु भएका ८ वटा शवको पहिचान खुलेको छैन । मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।