वर्षा र हिमपातको सम्भावना, जोमसोममा तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान

२०८२ कार्तिक १२ बुधबार १२:२२:०० मा प्रकाशित

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर साधारणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जोमसोममा शून्य डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने सबैभन्दा बढी तापक्रम विराटनगरमा ३१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।

 

देशका धेरैजसो सहरहरूमा पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

 

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरी कमजोर हुँदै उत्तर-उत्तरपश्चिम दिशामा सर्दै नेपालको मध्य भू-भाग नजिक आइपुगेको छ। यो न्यून चापीय क्षेत्रका रूपमा पूर्वतर्फ सर्ने क्रममा बुधबार रातिदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म नेपालको लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती, मधेस र कोशी प्रदेशको मौसमलाई प्रभावित पार्ने देखिएको छ।