रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने रारा तालमा गत आर्थिक वर्षमा १९ हजार १०४ मध्ये महिला छ हजार १७१ र पुरुष १२ हजार ९३३ आन्तरिक पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले जानकारी दिनुभयो ।
त्यस्तै सार्क मुलुकबाट ७७ जनामध्ये पुरुष ६४ र महिला १३ जना रहेका छन् । तेस्रो मुलुक अर्थात् विदेशी २७६ मध्ये पुरुष १६३ र महिला ११३ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को असोजसम्म रारा पुग्ने पर्यटकको सङ्ख्या दुई हजार ३४७ जनामध्ये पुरुष एक हजार ५८९ र महिला ७५८ जनाले राराको भ्रमण गरेको निकुञ्जका निमित्त कार्यालय प्रमुख यादवको भनाइ छ । सोही आवको असोजसम्म ३३ विदेशी पर्यटक रारा पुगेका छन् ।
अहिले कर्णाली राजमार्गको सडक स्तरवृद्धि भएसँगै सडक मार्ग भएर आन्तरिक पर्यटन रारा घुम्न आउनेको सङ्ख्या बढेको छ । विशेषगरी दसैँ-तिहारको अवसर पारेर रारा घुम्न आउने आन्तरिक पर्यटकको चाप यस वर्ष बढेको निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।
रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । यो याममा बागमती, गण्डकी र लुम्बनी प्रदेशबाट घुम्न आउनेको सङ्ख्या बढिरहेको छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारा पुगिन्छ । तालसँगै कस्तुरी, मृग, हाब्रे, हिमचितुवा, कालो भालुलगायत ५१ प्रजातिका स्तनधारी वन्यजन्तुको बासस्थान नै राराको विशेषता रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेशको अर्थतन्त्रलाई प्रभाव पार्ने रारासम्म सहज रूपमा पुग्नका लागि नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई पूरै कालोपत्र बनाउन तीनै तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने यहाँका होटल व्यवसायी बताउँछन् । पछिल्लो समयमा नेपाली नागरिकमा पनि भ्रमणमा निस्कने प्रचलन बढ्दै गएको पाइन्छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा जोडिएको पाइएको छ । हिमाल, पहाडका दृश्य, कर्णालीवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ ।
रारा राष्ट्रिय निकुञ्ज विसं २०३२ मा स्थापना भएको हो । यसको क्षेत्रफल एक सय छ वर्गकिमीमा फैलिएको छ । यसको अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ ।