क्यान्सर बिरामीको उपचारका लागी मेची-महाकाली साइकलयात्रा हुने

२०८२ कार्तिक १२ बुधबार १३:२०:०० मा प्रकाशित

काभ्रेपलाञ्चोक । क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची-महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ ।

 

आउँदो सन् २०२६ जनवरी १ मा सुरु गरिने यात्रा एक महिनाको हुने जनाइएको छ । साइकलयात्राबारे आज धुलिखेलस्थित अस्पतालमा पत्रकार सम्मेलन गरी यसपटक क्यान्सर रोगसँग सङ्घर्षरत दुई ‘सर्भाइभर’ले साइकलयात्रामार्फत मेचीदेखि महाकालीसम्मका नागरिकलाई क्यान्सर सचेतना जगाउने अठोटसमेत लिएको जानकारी गराइयो । सो अवसरमा क्यान्सर रोगसँग लडिरहनुभएका साइक्लिस्ट हर्क लामा र स्तन क्यान्सरको तेस्रो चरणबाट उठ्नुभएकी कविता चित्रकारले यात्राको नेतृत्व गर्ने बताइएको छ । यस यात्राका लागि साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँग सहकार्य गरिरहेको हो ।


क्यान्सरबारे जनचेतनाका साथै क्यान्सरका बिरामीलाई उपचार कोष जुटाउने यो साइक्लिङ अभियानलाई डा.तारालाल श्रेष्ठले संयोजन गर्नुभएको छ । धुलिखेल अस्पतालका चिकित्सकको समूहले मेडिकल सहयोग गर्ने भएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मको कुल एक हजार आठ किलोमिटर दूरी पार हुनेछ । यात्रामा साइकलप्रेमी तथा सहयोगी यात्रामा जोडिने अपेक्षा गरिएको छ ।

 

यस साइकलयात्रामा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिने छभने केही स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । यात्राका क्रममा कोषमा मुठ्ठीदानबापत जम्मा भएको रकम क्यान्सरका बिरामी सहयोग कोष स्थापना गर्न धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने श्रेष्ठको भनाइ छ । रासस