भरतपुर महानगरको १७ करोड बजेट कटौतीःक्षति पुगेका संरचना निर्माणमा खर्च गरिने

२०८२ कार्तिक २० बिहीबार १२:४६:०० मा प्रकाशित

भरतपुर । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२ र ०८३ का लागि विनियोजन गरिएको १७ करोड रूपैयाँभन्दा बढी बजेट कटौती गरेको छ । महानगरतर्फको ८ करोड ४६ लाख र वडातर्फको ८ करोड ७१ लाख रूपैयाँ बजेट कटौती भएको हो ।

जेनजी समूहको आन्दोलनमा भएको तोडफोड र आगजनीमा परेको संरचना पुनर्निर्माण तथा विभिन्न सामग्री खरिदका लागि महानगरले चालू आर्थिक वर्षको चालूतर्फको बजेट कटौती गरेको हो । कटौती भएको बजेट क्षति भएका संरचना तथा भवनहरुको पुनर्निर्माण तथा नवनिर्माणका लागि खर्च गरिने महानगरले जनाएको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलको संयोजकत्वमा गठित पुनः प्राथमिकीकरण कार्यदलले गरेको सिफारिसअनुसार आर्थिक वर्ष २०८२ र ०८३ का लागि विनियोजित चालूतर्फको योजना तथा कार्यक्रम कटौती गरेको बताउनुभयो । उहाँका अनुसार महानगरका प्रत्येक वडाको ३० लाखबराबरको बजेट कटौती भएको छ ।

‘प्राथमिकतालाई ख्याल गरेर बजेट कटौती गरेका छौँ, वडातर्फ चालूका परामर्श सेवाका बजेट बढी कटौती गरिएको छ’, उपप्रमुख अधिकारीले भन्रुभयो, ‘महानगरको बजेट पनि कटौती भएको छ, वडालाई दिइएका बजेट पनि कटौतीमा परेका छन् ।’

भरतपुर महानगरले नगरस्तरीय विनियोजन गरेको बजेट पनि कटौतीमा परेको छ । महानगरका पूर्वाधार विकास, युवा तथा खेलकुद, पशुसेवा विकास, शिक्षा, वातावरण तथा हरियाली प्रवर्धन, सेवा प्रवाह र प्रशासन, स्वास्थ्यलगायतका क्षेत्रको बजेट कटौती भएका छन् । यस्तै, भरतपुर महानगरले वडातर्फ सबै चालूअन्तर्गतको बजेट कटौती भएको छ ।

महानगरको पूर्वाधार विकासअन्तर्गत २८ वटा योजना काटिएको छ । २३ लाख ६० हजारबराबर पूर्वाधार विकासअन्तर्गतका बजेट कटौती भएका हुन् । युवा तथा खेलकुदतर्फ २२ लाख ४० हजार, राजस्व प्रशासन तथा वित्तीय सुशासनतर्फ १० लाख ७० हजार, पशुसेवा विकास कार्यक्रमतर्फ ८ लाख ६० हजार, पर्यटन तथा उद्योग क्षेत्रको कार्यक्रमतर्फ २८ लाख, शैक्षिक उन्ननयतर्फ ४४ लाख ५१ हजार, रोजगारी सिर्जना तथा सहकारी प्रवर्धनतर्फ ९ लाख, लक्षित वर्ग उत्थान सशक्तीकरण एवम् सामाजिक समावेशीकरणतर्फ तीन लाख रूपैयाँ बजेट कटौती भएको छ ।

यस्तै, सूचना प्रविधि प्रयोग तथा डिजिटल प्रणालीतर्फको ११ लाख बजेट कटौती भएको छ । सुशासन प्रशासन तथा जनशक्ति विकासतर्फ पाँच लाख, वातावरण तथा हरियाली प्रवद्र्धनतर्फ ६८ लाखबराबरका १३ वटा कार्यक्रम कटौती भएका छन् । सेवा प्रवाह र प्रशासनतर्फ १८ लाख ७० हजार कटौती भएको छ । विपद् तथा प्रकोप व्यवस्थापनतर्फ पनि न्यूनतम बजेट कटौती भएका छन् । स्वास्थ्यतर्फ मात्रै २६ लाख रूपैयाँबराबरको ६ वटा कार्यक्रम कटौती भएका छन् ।
स्वास्थ्यतर्फ भरतपुर अस्पताललाई महिला ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएकालाई निःशुल्क ओपिडीबापत अनुदानका लागि विनियोजन गरेको १० लाख बजेट पनि कटौती भएको छ । कृषितर्फका ५८ लाख बजेट कटौती भएको छ ।

‘मिलाएर सबै क्षेत्रमा विनियोजन गरिएको बजेट कटौतीमा परेका छन्, मूलतः विकासमा खर्च गरिने बजेट कटौती गरिएको छैन’, उपप्रमुख अधिकारीले भन्रुभयो, ‘कटौती गरिएको रकम क्षतिग्रस्त भवनहरु पुनर्निर्माणदेखि विद्युतीय उपकरणसम्म, फर्निचरका सामग्रीदेखि कागजपत्र खरिदमा खर्च गरिने छ ।’

भरतपुर महानगरले वडाको विकासका लागि विनियोजन गरेको बजेट पनि कटौती भएका छन् । २९ वटा वडाको ३० लाखको बजेट कटौती भएको र त्यो बजेट पनि वडाको संरचना निर्माणमा लगाइने महानगरले जनाएको छ ।

भरतपुर वडा नं–३ का वडाध्यक्ष विकास थापाले ३ नं वडाको पनि ३० लाखबराबरको बजेट कटौती भएको बताउनुभयो। ‘चालूतर्फका १२ वटा योजना र कार्यक्रम कटौती भएका छन्’, उहाँले भन्रुभयो ‘वडाको पुँजीगततर्फका कुनै कार्यक्रम र बजेट कटौती भएका छैनन्, चालूतर्फ योजना र कार्यक्रम काटिएका हुन् ।’ वडा नं–३ को आगजनीमा परेको भवनलाई रातो स्टिकर टाँस भएको छ, वडा कार्यलयनजिककै नगर वन स्वास्थ्यचौकीको भवनबाट सेवा दिइरहेको वडाध्यक्ष थापाले बताउनुभयो।

वडा नं–२ को १८ वटा योजना, वडा नं–१ को २२ वटा, वडा नं–४ को ९ वटा, वडा नं–५ को १३ वटा, वडा नं–६ को १० वटा, वडा नं–७ को २१ वटा, वडा नं–८ को ७ वटा, वडा नं–९ को १० वटा, वडा नं–१० को १५ वटा, वडा नं–११ को १८ वटा, वडा नं–१२ को १३ वटा योजना र कार्यक्रम कटौती भएको छ ।

यस्तै, वडा नं–१३ को १३ वटा, वडा नं–१४ को १३ वटा, वडा नं–१५ को १३ वटा, वडा नं–१६ को १३ वटा, १७ को १० वटा, १८ को १३ वटा, १९ को १९ वटा, २० को १३ वटा, २१ को १४ वटा, २२ मा १० वटा, २३ मा १६ वटा, २४ मा १७ वटा योजना तथा कार्यक्रम कटौती भएका छन् ।

यस्तै, २५ मा १२ वटा, २६ मा १४ वटा, २७ मा १८ वटा, २८ मा १८ वटा, २९ नं वडामा १७ वटा कार्यक्रम तथा योजना कटौती भएका छन् ।