नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा  पछि डिजाइन स्वीकृत

२०८२ कार्तिक २७ बिहीबार १३:०६:०० मा प्रकाशित

चितवन । निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का पाएको थियो । पहिलो १२ महिना अर्थात् १ वर्षभित्र पुलको डिजाइन तयार गरेर ३६ महिना (तीन वर्षमा)निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, झन्डै साढे दुई वर्ष (झन्डै २९ महिना)पछि पुलको डिजाइन स्वीकृत भएको हो ।


१ अर्ब ६८ करोडमा निर्माण सम्झौता भएको थियो । तुँदी कन्स्ट्रक्सनले तयार गरेको पहिलो डिजाइन विभागबाट स्वीकृत नभएपछि पुनः दोस्रोपटक डिजाइन बनाइएको थियो । दोस्रोपटक बनाइएको डिजाइन स्वीकृत भएको सडक विभागको पुल महाशाखाका इन्जिनियर अमृत वर्माले जानकारी दिनुभयो । पुलको पहिलो डिजाइन भारतीय विज्ञसँग गराइएको थियो । जुन डिजाइन उपयुक्त नभएको भन्दै महाशाखाले अस्वीकार गरेको थियो ।


त्यसपछि कन्स्ट्रक्सनले पुनः दोस्रोपटक डिजाइन तयार गर्‍यो । यसपटक भने चीनको विश्वविद्यालयका प्रोफेसरको नेतृत्वको टोलीलाई बोलाएर डिजाइन तयार गरिएको थियो । ‘डलब पाइलन केबल स्टेड ब्रिज’ टाइपमा निर्माण हुने पुलको डिजाइन रिभ्यू गर्न चीनको टोन्जी विश्वविद्यालयका प्रोफेसर डा.देवेई चेनले गर्नुभएको हो । जुन डिजाइनलाई पुल महाशाखाले स्वीकृत गरेको हो ।

डेढ वर्षअघि (२०८१ वैशाख ३१ गते) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सिग्नेचर पुलको शिलान्यास गर्नुभएको थियो। उक्त पुलको ठेक्का भने एक वर्षअघि २०८० वैशाखमा नै लागिसकेको थियो । नेपालमै पहिलोपटक बन्न लागेको निकै अत्याधुनिक पुल भएकाले डिजाइनमा समय लागेको हो ।
४२० मिटर लामो आकर्षक सिग्नेचर डिजाइनमा निर्माण गरिने पुल दुई लेनको बन्नेछ । तर गज्जबको कुरा त के छ भने यस पुललाई भविष्यमा तीन लेनसमेत गर्न सकिने छ । अहिले दुई लेन र एक लेन साइकल र फुटपाथका लागि छुटाइएको छ ।

नेपालको कर्णाली नदीमा बनेको पहिलो अत्याधुनिक पुलजस्तै नारायणीमा पनि बन्न लागेको हो । तर कर्णाली पुलमा एक मात्रै पिल्लर रहेको छ । नारायणी नदीमा निर्माण हुने पुलमा भने डबल केबल स्टेड हुनेछन् । दुई छेउका पिलरहरू १०० मिटरको दूरीमा र बिचको स्पान अर्थात् पिल्लर नभएको दुरी २२० मिटरको हुनेछ । जुन नेपालकै पहिलो डबल स्टेड ब्रिज हुनेछ ।

४२० मिटर लम्बाइको बन्ने सिग्नेचर ब्रिज र हाल सञ्चालनमा रहेको पुलको लम्बाई पनि ४२० मिटर नै रहेको छ । नारायणीमा पुल निर्माणका लागि बजेट अभाव नभएकाले काम तीव्र रूपमा अगाडि बढाइने सडक विभागले जनाएको छ । तर ठेक्का सम्झौता अनुसार ४ वर्षभित्र यसको काम सम्पन्न गरिसक्नुपर्ने छ । पूर्वपश्चिम राजमार्गमा पर्ने यस पुलले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई जोड्नेछ । हाल नारायणी नदीमा रहेको एक मात्र पुल करिब ४४ वर्ष पुरानो भइसकेको छ । हाल सञ्चालन भइरहेको पुलको विकल्प नभएकाले यस पुललाई निर्माण गरिन लागेको हो ।