नारायणी किनारमा आयोजित खेलकुद तथा व्यापारिक महोत्सव मंगलबार सम्पन्न

२०८२ मङ्सिर ३ बुधबार १४:५९:०० मा प्रकाशित

चितवन । चितवनको नारायणी नदी किनारमा आयोजित खेलकुद तथा वृहत व्यापारिक महोत्सव सम्पन्न भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आयोजना गरेको महोत्सव मंगलबार सम्पन्न भएको हो ।

 

महोत्सवको एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले समापन गरेकी हुन् । सो क्रममा मेयर दाहालले बिगतमा हुने गरेका मेला महोत्सवलाई यसले माथ गरेको बताईन् । महोत्सव व्यवस्थित र भव्य भएको उनको भनाइ थियो । यस्तै मेयर दाहालले यो महोत्सवको निरन्तरताको कामना पनि गरिन् ।

 

फरक प्रसङ्गमा दाहालले आफूले गरेको राम्रो कामकै कारण ‘विध्वंस’ भोग्नुपरेको पनि बताएकी छन् । विकासका सकारात्मक मोडेल प्रस्तुत भइरहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनमा अराजक तत्वको घुसपैठका कारण भएको तोडफोड तथा विध्वंसले मनोबल कमजोर बनाइदिएको उनको आरोप थियो ।

 

“अराजक तत्वहरूले हाम्रो महानगरलाई सखाप बनाएका छन्, कार्यालय जलाइदिए, निजी सम्पत्तिमाथि आगजनी गरियो । हाम्रो मनोबल कमजोर पार्न खोजियो, उनले भनिन्, “तर पनि हामी कतै विचलित भएका छैनौँ । सधैं जनताका सेवक भएर अगाडि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” उनले त्यति ठूलो घटनाको वास्तविक कारण आजसम्म पत्ता नलागेको दुःखेसो पनि गरिन् । जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने प्रश्न अझै अनुत्तरित रहेको पनि उनको भनाइ थियो ।

 

चितवन जिल्लाको समग्र खेल क्षेत्रलाई चलायमान बनाउन, खेलाडीको मनोबल वृद्धि गर्न तथा आर्थिक स्तर उकास्ने उद्देश्यले कात्तिक १८ गतेदेखि महोत्सव सुरु भएको थियो । महोत्सवमा तीन सय भन्दा बढी स्टल रहेका थिए । व्यापारिक स्टलसँगै महोत्सवमा भलिवल, कराँते, तेक्वान्दो, सेपाकताक्रो, एथ्लेटिक्स, कबड्डीलगायतका खेल पनि खेलाईएको थियो ।


दुई सातासम्म चलेको महोत्सव सफल भएको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले बताए । उनले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । केही दिन भित्रै महोत्सव बारे समिक्षा गरिने संयोजक बिकल क्षेत्रीले जानकारी दिए । महोत्सवमा निर्मित लन्डन ब्रिजले दर्शकहरुलाई निकै आकर्षित गरेको थियो ।