गैंडाकोटमा सप्तदिवसीय श्री भानुभक्तिय रामायण पाठ एवं कथा पारायण ज्ञानयज्ञ सुरु
गैंडाकोट । श्री सिताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिको आयोजनामा सप्तदिवसीय श्री भानुभक्तिय रामायण पाठ एवं कथा पारायण ज्ञानयज्ञ सुरु भएको छ । सीता विवाह पञ्चमीको अवसर पारेर गैंडाकोट ६ मा रहेकोे सिताराम मन्दिरले बुधबार बिहान मन्दिर परिसरबाट शोभायात्रा गरी नारायणी नदीको पवित्र जल ल्याएर यज्ञ शुभारम्भ गरेको हो ।
महायज्ञ शुभारम्भ कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सिताराम मन्दिर हाम्रै नगरपालिकाको गहना भएकोले यसलाई अगाडि बढाउने दायित्व हाम्रै भएको बताउनुभयो। उहाँले नगरको तर्फबाट मन्दिरलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
महायज्ञका मूलवाचक पण्डित श्री चेतराज कंडेलले ज्ञान महायाज्ञको सफलताको शुभकामना व्यक्त गर्दै व्यक्तिगत रुपमा ७ हजार रुपैयाँ दान रकम बोल्नुभएको थियो । उहाँले सिताराम मन्दिरसँग कुनै न कुनै किसिमबाट आफु नजिक रहेकोले यस मन्दिरले प्रगति गरेको देख्दा निकै खुसी लागेको बताउनुभयो ।
मन्दिरका अध्यक्ष थानेश्वर भुसालले सप्तदिवसीय भानुभक्तीय रामायण पाठ एवं कथा पारायण ज्ञानयज्ञमा उपस्थित भई सम्पूर्ण भक्तजनहरूले कथा श्रवण गर्नु हुन अनुरोध गर्नुभयो । उहाँले हामी कथा प्रवचन सुन्न टाढा टाढा जाने गर्छौं भने सिताराम मन्दिरले यही गाउँ ठाउँमा ल्याएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा मन्दिरका सदस्य कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण मन्दिरका सचिव प्रेमप्रसाद सापकोटाले गर्नुभएको थियो। सात दिनसम्म चल्ने ज्ञानयज्ञमा प्रमुख वाचकको रूपमा पण्डित श्री चेतराज कडेलको मुखारविन्दुबाट संगीतमय वातावरणमा श्री भानुभक्तीय रामायण कथा एवं पण्डित श्री हेमराज आचार्यबाट पूजा ,पाठ पारायण हुने मन्दिरका सचिव प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
ज्ञानमहायज्ञमा प्रत्येक दिन ६ बजेदेखि ६ः३० बजेसम्म नित्य कर्म, बिहान ६ः३० देखि ७ः ३० बजेसम्म प्रातकालीन पूजा र ८ बजे देखि ११ बजेसम्म पाठ पारायण रहने मन्दिरका अध्यक्ष भुषालले जानकारी दिनुभयो । त्यस्तै, बिहान ११ बजेदेखि ११ः३० बजे सम्म स्थानीय भजन कृतन रहने छ, त्यस्तै अपराह्न १ बजे देखि ४ बजेसम्म प्रमुख वाचक पं.चेतराज कँडेल बाट संगीतमय कथावाचन हुने मन्दिरका अध्यक्ष भुषालले जानकारी दिनुभयो । दैनिक कार्यक्रम अन्र्तगत अपराह्न ४ वजे देखि ५ बजेसम्म आरती, पुष्पाञ्जली र प्रसाद वितरण रहने छ भने त्यसपछि बेलुका ९ः३० बजेसम्म भजन कृर्तन रहने भुषालले बताउनुभयो । मन्दिरले मंसिर ७ गते बिहान १० देखि १ बजेसम्म मन्दिर परिसरमा साधारण सभाको कार्यक्रम पनि रहेको मन्दिरका सचिव सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै, मंसिर ९ गते मध्यान्न १२ बजे सिताराम मन्दिरबाट श्रीराम भगवानतर्फको बरियात नौमती बाजा र भजन कृर्तनसहित प्रस्थान भई वधुपक्ष श्री महादेव मन्दिर पुगेर श्री सीतारामको वैवाहिक उत्सव मनाउँदै फर्कने कार्यक्रम रहेको सापकोटाले बताउनुभयो । त्यस्तै मंसिर ९ गते दिउँसो २ बजेपछि लक्ष्यदीप प्रज्ज्वलन र ३ बजेबाट यज्ञ समापन कार्यक्रम रहने सचिव सापकोटाले बताउनुभयो । सप्तदिवसिय ज्ञानमहायज्ञ मंसिर ३ गतेबाट सुरु भएर मंसिर ९ गतेसम्म चल्ने छ ।