जयश्री सामुदायिक वन उपभोक्ता समूहको २३ औँ साधारण सभा सम्पन्र
गैँडाकोट । जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैँडाकोटको २३ औँ वार्षिक साधारण सभा आज शनिबार समुहकै सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जयश्री वनले गरीबी निवारण तथा महिला सशक्तिकरणका क्षेत्रमा प्रशंसनीय कार्य गरेको उल्लेख गर्नुभयो। उहाँले नयाँ विरुवा रोपेर वनलाई अझ हरियाली बनाउनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक वनका अध्यक्ष भिम बहादुर कुमालले विपन्न वर्गलाई स्वरोजगार तालिम, गरीबी न्यूनिकरण, दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, होमनाथको स्मृति शालिक निर्माण पार्क सम्पन्न गरेको बताउनुभयो । त्यस्तै, उहाँले सहुलियत दरमा काठ बिक्री वितरण र संस्थागत विकासका लागि काम गरेका बताउनुभयो ।
सचिव टेक बहादुर आले मगरले वन संरक्षण र समृद्धिका लागि संस्था प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । हरियो वन, नेपालको धन भन्ने नारासहित उहाँले जलवायु परिवर्तनको प्रभाव कम गर्न सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।
कोषाध्यक्ष पार्वती ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको वन ऐन २०७६, नियमावली २०७९ र गण्डकी प्रदेश वन ऐन २०८० अनुसार कार्य अघि बढाइएको जानकारी दिनुभयो। उहाँले कार्य समितिले साधारण सभाबाट दिइएको अधिकारको दायराभित्र निर्णयअनुसार खर्च गरेको पनि स्पष्ट पार्नुभयो ।
लेखा तथा सुपरिवेक्षण समितीका संयोजक राजेन्द्रराज घिमिरेले पर्यावरण संरक्षण र विपन्न महिला सदस्यहरुलाई सिपमुलक तालिम कार्यक्रम उत्कृष्ट रुपमा सञ्चालन गरेको बताउनुभयो। उहाँले संस्थागत सुधारका लागि आवश्यक सुझावहरु पनि प्रस्तुत गर्नुभयो ।
भवनी टोल विकास संस्थाका अध्यक्ष गोविन्द घिमिरे, उपभोक्ताको तर्फबाट प्रेमराज सापकोटा र पार्वती सापकोटा, आदिवासी जनजाती महासंघका नगरअध्यक्ष नरबहादुर थापा मगर, नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारी, गैंडाकोट पम्पिंग स्किम खानेपानीका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, हर्क बहादुर भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।
वनका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा वनका संस्थापक अध्यक्ष एवं सल्लाहकार टोलनाथ घिमिरे, गैँडाकोट–४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं. १ का अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा लगायतको पनि सहभागिता रहेको थियो ।