देवघाट विद्युतीय शवदाह गृह सञ्चालनमा ढिलाइ

२०८२ मङ्सिर ७ आइतबार १४:११:०० मा प्रकाशित

भरतपुर । देवघाटमा निर्माण गरिएको देवघाट विद्युतीय शवदाह गृह सञ्चालनमा ढिलाइ भएको छ । गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सकेर भरतपुर महानगरलाई हस्तान्तरण गरेको विद्युतीय शवदाह अझै सञ्चालनमा आउन सकेको छैन । आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रुपमा महानगरको जिम्मा लगाइसकेको छ ।


भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले शवदाह गृह सञ्चालनका लागि कार्तिक २३ गते महानगरको कार्यविधि बोर्ड बैठकले पारित गरिसके पनि अझै कसरी सञ्चालन गर्ने भन्ने विषय छलफलमा रहेको बताउनुभयो । बिजुली-पानीको खर्च, केमिकल खर्च, कर्मचारीलगायतका खर्च धान्ने गरी विद्युतीय मेसिनबाट एउटा शव जलाएबापत ३५ सय रूपैयाँ निर्धारण गरिएको उपप्रमुख अधिकारीको भनाई छ ।

 

त्यस्तै, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र विकास समितिलाई जिम्मेवारी नआइसकेको बताउनुभएको छ । उहाँले महानगरले हामीलाई नै जिम्मा दिने कुरा छ, तर पनि सञ्चालनका लागि आदेश आइसकेको छैन, सञ्चालनका लागि पत्र नपाएको र  एउटा शव जलाएबापत तीन हजार पाँच सय महानगरले निर्धारण गरेतापनि त्यो रकमले खर्च नपुग्ने निर्देशक बरालले बताउनुभएको छ ।  ।


वर्षात्को समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा किरियापुत्री बस्ने व्यवस्था छ । हाल देवघाटमा दैनिक १० भन्दा बढी शव दाउराको माध्यमबाट जल्ने गरेको छ ।