गैँडाकोट तर्फ नारायणी किनार : थुप्रिदै फोहोर, नदीको सभ्यता संकटमा
गैँडाकोट। गैँडाकोटतर्फ नारायणी किनारमा फालिने फोहोर यस क्षेत्रको सभ्यताकै लागि चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । गैँडाकोटको सहमति संस्थासंगको सहकार्यमा बेटर चितवनले गरेको फोहोरको अडिट अर्थात् परीक्षणले गैँडाकोट तर्फको नारायणी नदीमा भइरहेको फोहोरको विसर्जन गम्भिर चुनौती बन्ने आंकलन गरेको छ ।
गैँडाकोटको बृटिश क्याम्प, नारायणी नदी किनार, पारिजात पार्क, गैरी डम्पिङ साइट, नेपाल गोर्खा ब्रुअरी पछाडिको क्षेत्र, मुकुन्दपुर घाट, सुनवर्षा खेलमैदान क्षेत्रमा गरिएको फोहोरको परीक्षणबाट गैँडाकोटको फोहोर व्यवस्थापनको नीति र प्रविधिमा सुधार नगर्ने हो भने नदीकै सभ्यता संकटतर्फ जाने देखिएको छ ।
गैँडाकोटको नदी किनारको कुन क्षेत्रमा बढी फोहोर छन् ?
गैँडाकोटका विभिन्न क्षेत्र मध्ये गैँडाकोट १ को बृटिश क्याम्प र गैँडाकोट ६ को पारिजात पार्क सबैभन्दा बढी फोहोर हुने क्षेत्र रहेको अध्ययनले देखाएको छ । गैरी डम्पीङ साइट फोहोर फालिने क्षेत्र नै भएका कारण यो क्षेत्रमा धेरै फोहोर हुनु स्वभाविक लिन सकिए पनि पारिजात पार्क र बृटिश क्याम्प समस्याग्रस्त क्षेत्रको रुपमा बढ्दै जाने देखिन्छ ।
गैरी डम्पीङ साइटमा प्रति हेक्टरमा एकहजार आठसय ९६ किलो फोहोर भेटिएको छ भने पारिजात पार्कमा ६ सय ९३ केजी र बृटिश क्याम्पमा ३ सय ५८ किलो फोहोर भेटिएको छ ।

गैँडाकोटको नदी किनारमा कस्तो प्रकृतिका फोहोर छन् ?
वातावरणका क्षेत्रमा काम गरिरहेको बेटर चितवनका इन्जिनियर सागर कार्कीका अनुसार नारायणी नदीमा सबैभन्दा धेरै प्लाष्टिक पाइएको छ । प्लाष्टिक ६० दशमलब ६८ प्रतिशत पाइएको छ । त्यसपछि जैविक फोहोर, सिसा, कपडा, धातुका टुक्रा, कागज, चिकित्सा फोहोर रहेका छन् ।
गैँडाकोटको नारायणी क्षेत्रमा प्लाष्टिकको मात्रा धेरै भएका कारण पनि समयमानै फोहोर व्यवस्थापनमा ध्यान दिन सके आगामी दिन थप सहज हुने अभियन्ता सागर कार्कीले बताउनुभयो ।
गैँडाकोट तर्फको नारायणी नदीमा जैविक फोहोर २४ दशमलब ८१ प्रतिशत, कागज २ दशमलब ८ प्रतिशत, धातुका टुक्रा ३ दशमलब २५ प्रतिशत, सिसाका टुक्रा ८ दशमलब ३९ प्रतिशत, स्वास्थ्य चिकित्सा सम्बन्धि फोहोर १ दशमलब १ प्रतिशत, कपडा बस्त्र ६ दशमलब ९५ प्रतिशत र अन्य फोहोर २ दशमलब ८२ प्रतिशत भेटिएको फोहरको अडिटमा उल्लेख छ ।
गैँडाकोट तर्फ कहाँ कस्तो फोहोर ?
गैँडाकोटको बृटिश क्याम्प क्षेत्रमा धेरै मात्रामा प्लाष्टिक र पिकनिक फोहोर, शनिबारका दिन बढि फोहोर हुने देखिएको छ । वर्षायाममा फोहर नदीमा पुग्ने जोखिम बढि रहेको छ ।
नारायणी नदी किनार गैँडाकोट २ मा जैविक तथा पूजा आजासम्बन्धि फोहोर भेटिन्छ । यस क्षेत्रमा कपडाजन्य फोहोर बढी पाइएको छ । बस्ती नजिक भएकोले र साना पसल व्यवसाय बढ्दै गएकोले आगामी दिनमा झन् फोहोर बढ्ने देखिन्छ ।
पारिजात पार्क सबै भन्दा बढी जोखिमको क्षेत्र रहेको छ । यस क्षेत्रमा सबैभन्दा धेरै सिसाका बोतल पाइएको छ । लागुपदार्थ दुव्र्यसन लिने स्थलको रुपमा परिचित बन्दै गएका दृश्य बढि भेटिन्छ ।
गैँडाकोट ७ को नदी किनार अव्यवस्थित डम्पीङ साइटको रुपमा विकसीत बन्दै जाँदा जल र जीवको जीवनमा जोखिम निम्तने समस्या प्रवल रहेको अध्ययनले देखाएको छ ।
गोरखा ब्रुअरी क्षेत्रको नारायणी नदी किनारमा पनि काँचको बोतल र औद्योगिक फोहोर बढी मात्रमा भेटिएको अडिट रिपोर्टमा उल्लेख छ ।
.jpg)
फोहोर व्यवस्थापनमा नगरपालिकाले के गरिरहेको छ ?
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जग्गा व्यवस्थापन हुन नसक्दा गैँडाकोट नगरपालिकाले फाहोर व्यवस्थापनको योजना कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । नगरपालिकाको नाममा जग्गा नहुँदा फोहोर प्रशोधन केन्द्रको टेण्डर प्रक्रिया अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो ।
फोहोर व्यवस्थापनका लागि राज्यका कतिपय कानुनकै अड्चनका कारण आशातित प्रगति गर्न नसकेको नगरप्रमुख अधिकारीले बताउनुभयो । फाहोरको दीगो व्यवस्थापनका लागि पालिका चिन्तित र चिन्तनमा रहेको बताउनुभयो । गँैडाकोट ७ को २ सय ९३ जग्गा सरकारको नाममा गरायौँ, त्यसैमध्ये १० विगाह जग्गा पालिकाको नाममा गराउन प्रयास गरेपनि सफलता नमिलेको कारण फाहोर व्यवस्थापनमा देखिने गरि काम गर्न नसकेको नगरप्रमुख अधिकारीको भनाइ छ ।
व्यवस्थित पार्क सहित फाहोरको व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणको योजना भएपनि जग्गाकै प्रवन्ध हुन नसक्दा काम हुन नसकेको गँैडाकोट नगरपालिका वातावरण शाखाका इन्जिनियर शंकर कंडेलले बताउनुभयो ।
फोहोरको समस्या न्यूनिकरण कसरी गर्ने ?
नारायणी नदी किनारको फोहोरको नक्साङ्कन र फाहोरको अडिट (परीक्षण) ले फोहोरको समस्या समाधानका लागि केही सुझाब पनि प्रस्तुत गरेको छ । पूर्वाधार विकास अन्तर्गत जैविक फोहोरका लागि सामुदायिक कम्पोष्टिङ युनिट स्थापना गर्नुपर्ने, धार्मिक, पर्यटकीय क्षेत्रको नियमित फोहोर संकलन, पर्यटन क्षेत्रमा बोतलको फोहर घटाउने फेरी भर्न मिल्ने पानी स्टेसन जस्ता पूर्वाधारको निर्माण तथा अभ्यासको थालनी गर्ने ।
नीति तथा कार्यक्रम अन्तर्गत आवश्यकता अनुसार संकटउन्मुख क्षेत्रलाई प्लाष्टिक नियन्त्रण क्षेत्र घोषणा गर्ने, फोहोर फाल्नेलाई जरिवाना र कार्यान्वय पक्ष बलियो बनाउन आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ ।
ब्लेड, सुई जस्ता धारिलो वस्तुहरुको लागि अलग फोहोर संकलन डब्बाहरु राखने, लागु औषध प्रयोग हुने जोखिम भएका क्षेत्रमा नो ड्रग जोन क्षेत्र घोषणा गर्ने गर्नु आवश्यक रहेको बताइएको छ ।
सहमतिले गत शुक्रबार फोहोरको नक्साङ्कन तथा अडिट विश्लेषण प्रतिवेदन प्रस्तुतीकरण तथा अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरु समक्ष अध्ययनका बारेमा जानकारी गराइएको हो ।
अन्तक्रिया कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारी तथा उपप्रमुख शान्ति कोइरालाको सहभागिता रहेको थियो । नारायणी नदी किनार जोडिएका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।
गँैडाकोट वाड नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले अध्ययनले देखाएको चुनौतीका सन्दर्भमा कार्यपालिकामा विस्तृत अध्ययन हुने बताउनुभएको छ । गँैडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले नारायणी नदी किनारमा डम्पिङ भइरहेको फोहोरको विकल्पका बारेमा पनि सुझाब प्रस्तुत गरे पालिकाले कार्यसम्पादनमा जान सहज हुने धारणा राख्नुभयो ।
सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले नारायणी नदी यस क्षेत्रको सभ्यता र मानव र प्राणीकै जीवनको आधार भएको कारण नदी संरक्षणका लागि पालिका थप जिम्मेवारी सहित अघि बढ्न आवश्यक भएको बताउनुभयो । पालिकालाई फोहोरमैला व्यवस्थापनका लागि आवश्यक परेको खण्डमा सहयोगका लागि सहमति तयार रहेको समेत बताउनुभयो । सहमति संस्थाले नारायणी नदी संरक्षणका लागि नदीसँगै हामी अभियान सञ्चालन गरिरहेको छ । विभिन्न चरणमा गरिएको नदी किनारको सरसफाईबाट अहिलेसम्म सहमतिले ६ हजार किलो बढी फोहोर संकलन गरिसकेको छ । देवघाट क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने कार्यमा प्राविधिक तथा नीतिगत सहयोग सहमतिले गरिरहेको छ ।