तोडिएका ठेक्काको तत्काल टेन्डर गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चितता गर्न तत्काल नयाँ टेन्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२र८३को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेन्डरको नयाँ प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सडक विभागअन्तर्गत ठेक्का लिई वर्षौदेखि अलपत्र पारिएका सडक एवम् पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिले नै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा वहुवर्षीय सहमतिमा देखिएको अन्यौलता हटाइने बताउनुभयो ।