प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

२०८२ पौष ५ शनिबार १२:१४:०० मा प्रकाशित

नवलपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता-२०८२, आजदेखि सुरु हुँदैछ ।


नवलपुरको कावासोती नगरपालिका-१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताउनुभयो ।

 

सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवद्र्धन तथा कावासोती नगरपालिका-१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा देशभरका १२ वटा टिमको सहभागिता रहने छ । सबै खेलहरू कावासोती-१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछन् ।

 

प्रतियोगिताको विजेता टिमले तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई जनही २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिनुभयो ।

 

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

 

पहिलोपटक कावासोती गोल्डकप गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाका अध्यक्ष अर्यालको भनाई छ । रासस