गैँडाकोट महोत्सवः जलपरी राखिएको डोमको उद्घाटन

२०८२ पौष २६ शनिबार १९:०७:०० मा प्रकाशित

गैँडाकोट । चौथो संस्करणमा गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको शनिबार उद्घाटन गरिएको छ। गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जलपरी राखिएको डोमको उद्घाटन गर्नुभएको हो ।

 

जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गर्नुभएको छ । महोत्सवमा राखिने जलपरी यहाँको लागि नौलो भएको बताँउदै नगरप्रमुख अधिकारीले आएर अवलोकन गर्न अनुरोध गर्नुभएको होे । जिल्लामा आयोजना गरिने यसप्रकारको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणसँगै आर्थिक क्षेत्रलाई चलायमान बनाउने समेत बताउनुभयो । नारायणी नदी किनारमा सञ्चालित यस महोत्सवले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारसम्म जोड्न महत्वपूर्ण भूमिका खेल्ने आफ्नो विश्वास रहेको अधिकारीको भनाइ छ ।


नगरप्रमुख अधिकारीले उद्घाटन गरेसँगै जलपरी हेर्न आउने दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । महोत्सव आउने अधिकांश दर्शकहरु जलपरी तथा फिस टनेलको अवलोकन गर्न पुगेका महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटालको भनाई छ । सापकोटाकाअनुसार महोत्सवको दोस्रो दिन शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रममा कलाकार प्रकाश सपूत, सीता राना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिएका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बताउनुभयो । लम्सालकाअनुसार कलाकारहरुले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गराएका थिए  ।

 

महोत्सवको तेस्रो दिन (भोली) आइतबार चर्चित गायिका समीक्षा अधिकारीसहितका कालाकारको प्रस्तुती रहनेछ । अधिकारीसहित अन्य कलाकाहरु सरिता गुरुंग, दीपक खड्का, आरसी पौडेलको प्रस्तुती रहनेछ । त्यस्तै, भोलिदेखि नै भजन प्रतियोगिता समेत सुरु हुने भएको छ । नवलपुरको गैँडाकोट-२ स्थित नारायणी नदी किनारमा सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।