वडास्तरीय महिला तथा पुरुष फुटबलमा ७ र १६ नं वडाको विजयी सुरुआत

२०८२ पौष ३० बुधबार १२:२५:०० मा प्रकाशित

नवलपुर । गैँडाकोटमा मंगलबारदेखि सुरु भएको वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर ७ र महिलातर्फ वडा नम्बर १६ ले विजयी सुरुआत गरेका छन् ।


गैँडाकोटमा जारी फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार सम्पन्न खेलहरू निकै रोमाञ्चक बनेका छन् । पुरुषतर्फको पहिलो खेलमा गैँडाकोट वडा नम्बर २ र वडा नम्बर ७ आमनेसामने भए ।


खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । तर दोस्रो हाफमा वडा नम्बर ७ का भक्तबहादुर कुमाल (जर्सी नम्बर ६) ले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको केही समयमा विवस नेपाली (जर्सी नम्बर ८) ले थप गोल गर्दै वडा नम्बर ७ लाई मजबुत बनाए ।


तर, निर्धारित समयमा गैँडाकोट वडा नम्बर २ का शैलेश घिमिरे (जर्सी नम्बर ५) ले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।


उक्त खेलमा भक्तबहादुर कुमाल म्यान अफ द म्याच घोषित भए । उनले नगद रु ५०० र एक मेडल प्राप्त गरे । नगद पुरस्कार वडा नम्बर ५ निवासी लोकबहादुर आलेले सहयोग गरेका थिए ।


त्यस्तै, मंगलबारको दोस्रो खेल महिलातर्फको पहिलो खेल थियो । गैँडाकोट वडा नम्बर १६ र वडा नम्बर ३ बीच भएको खेलमा पहिलो हाफमा कुनै गोल हुन सकेन । तर दोस्रो हाफमा गैंडाकोट वडा नम्बर १६ की रेनु शर्मा (जर्सी नम्बर ७) ले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाइन् । उत्कृष्ट प्रदर्शनका कारण उनी प्लेयर अफ द म्याच घोषित भइन् । 


आज दिउँसो हुने चौथो खेलमा वडा नम्बर ११ र वडा नम्बर ७ आमनेसामने हुनेछन् । चौथो खेल महिलाहरुको भएको भन्दै दिउँसो १ बजे हुने संयोजक प्रशान्त  रेग्मीले जानकारी दिए ।


गैँडाकोटमा जारी प्रतियोगिताले स्थानीय खेलाडीहरूको उत्साह र प्रतिभा उजागर गरिरहेको छ । पुरुष तथा महिला दुवै तर्फका खेलहरूले दर्शकलाई रोमाञ्चक क्षण प्रदान गरिरहेका छन् ।