समयमै निर्वाचन गराउन नागरिक समाजको माग
नवलपुर । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेको मानव अधिकार तथा शान्ति समाजद्वारा “शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता” विषयक नागरिक संवाद कार्यक्रम बुधबार विहान गैँडाकोट १ को शैलजा प्रतिष्ठानको हलमा सम्पन्न भएको छ ।
मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सबैले एक स्वरमा निर्वाचन समयमै हुनुपर्ने माग गर्नुपर्ने समय आएको बताउनुभयो । अहिलेको सरकार ७५ प्रतिशत असफल भइसकेको दाबी गर्दै पहाडीले भन्नुभयो, “समयमा निर्वाचन भएन भने देश संकट तर्फ धकेलिने छ, समयमै नागरिक समाजले खबरदारी गर्नुपर्ने बताउनुभयो । ”
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेनुका पौडेलले चितवनबाट अभियान सुरू गरिएको जानकारी दिँदै समुदायमा शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र समयमै निर्वाचन सुनिश्चित गर्न अभियान चलाइएको बताउनुभयो । राजनीतिक दल सुध्रिन नसक्दा देशले दुःख भोग्नुपरेको उल्लेख गर्दै जेनजी आन्दोलनमा भएको विनाश असह्य भएको र जेन्जी आन्दोलनको सुशासनसम्बन्धी माग जायज रहेको बताउनुभयो । साथै उहाँले सरकारले घोषित समयमै निर्वाचन गराउनुपर्ने जोड समेत दिनुभयो ।
नेपाली काँग्रेस नेतृ तथा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले आफूलाई सुधार्नु नै साँचो परिवर्तन भएको उल्लेख गर्दै परिवर्तन विनाश नभई निर्माणका लागि हुनुपर्ने बताउनुभएको छ। उहाँले महाभारतको पात्र अभिमन्युको उदाहरण दिँदै ज्ञान र रणनीतिविना गरिने आन्दोलन विनाशतर्फ जाँदा आफ्नै देश र सरकारी सम्पत्तीको क्षति पुगेको बताउनुभयो । अभिमन्यू चक्रव्यूहमा पसे तर निस्कन सकेनन्, जेनजी आन्दोलनले विनाश त ग¥यो, समाधानको बाटो पहिल्याउन सकस भइरहेको छ ।
वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले व्यक्तिभन्दा विधिको शासन महत्वपूर्ण हुने बताउँदै राम्रा आचरण भएका व्यक्तिलाई पक्षमा र भ्रष्ट आचरण भएका उम्मेदवारलाई विपक्षमा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले राम्रा आचारण भएका व्यक्तिलाई सबै दलले अघि बढाउन आवश्यक भएको बताउनुभयो ।
नेकपाका नेता धनप्रसाद सापकोटाले आफू परिवर्तन नभएसम्म समाज परिवर्तन सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । यस्तै नेकपा एमालेका नेता कृष्ण पौडेलले परिवर्तनलाई अस्वीकार गर्ने शक्ति अन्ततः समाप्त हुने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रकान्त रेग्मीले जनताले सुशासन र न्याययुक्त समाजको परिवर्तन खोजिरहेको बताउनुभयो ।
मौलाकाली मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले सरकार टिके पनि जनतामाथि असंवेदनशील निर्णय गर्न नहुने चेतावनी दिनुभयो ।
कार्यक्रममा शैलजा प्रतिष्ठानका अध्यक्ष विष्णु शर्माले समयमै निष्पक्ष निर्वाचन लोकतन्त्रको आधार भएको उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन सार्न नहुने धारणा राख्नुभयो । कार्यक्रममा कवि अर्जुन पराजुलीले समसामयिक सन्दर्भको कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो भने मानव अधिकार शान्ति समाज नवलपुरका सभापति कमल पौडेलले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।