बुधबार १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन
गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको बुधबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार बुधबार १० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका हुन् ।
पुस २५ देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताहरुको आकर्षण बढ्दै गएको सापकोटाले बताए । महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । त्यसैगरी, महोत्सवस्थलसँगै नारायणी नदीमा नेपालकै पहिलो क्रुजशिप राखिएको छ ।
बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेसहितका कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवका सांस्कृतिक संयोजक किशोर लम्सालले प्रिती आलेले आफ्ना चर्चित गीतहरुबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी बताए । बुधबार पनि भजन प्रतियोगिता सञ्चालन भएको उनको भनाइ छ । स्थानीय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले भजन प्रतियोगिता सञ्चालन गरिएको लम्सालको भनाइ छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत माघ १ गते बिहीबार चर्चित गायक शिव परियारसहितका कलाकरहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ । लम्सालका अनुसार माघेसङ्क्रान्तिको दिन शिव परियार, रितु कँडेल, रितु थापा, कुशल बेलसासेको प्रस्तुती रहनेछ । बिहीबारको कार्यक्रम सञ्चालन पनि कलाकार एवम् प्रस्तोता दीपक खड्काले गर्ने लम्सालले बताए ।
स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अनुमान रहेको छ ।
महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।