स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम

२०८२ माघ ६ मंगलबार ११:१४:०० मा प्रकाशित

गैँडाकोट । समुदायमा स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ९ नारायणी सामुदायिक वनको बालउद्यान पार्क थुम्सीमा भएको साधारण सभामा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोटले स्वास्थ्य जनचेतना फैलाउने र निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेर समाजमा सेवा गरिरहेको बताउनुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइका अध्यक्ष इश्वरीप्रसाद घिमिरेले स्वास्थ्य सचेतनाका लागि, ग्रामीण क्षेत्र र अन्य क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य उपलब्धताका लागि संस्थाले समय समयमा स्वास्थ शिविर सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा सचिव खुमनाथ शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले सबै निजि औषधी व्यवसायीलाई एकजुट बनाउँदै अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष विनोद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सल्लाहकार संयोजक शेषकान्त देवकोटा, इलाका प्रहरी कार्यालय गैंडाकोटका वरिष्ठ प्रहरी निरीक्षक रामबहादुर खत्री, गैंडाकोट नगर अस्पतालका पूर्व जनस्वास्थ्य प्रमुख इन्द्रराज सापकोटा, पूर्व जनस्वास्थ्य अधिकृत यमनाथ मरासनी लगायतले नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाइले समुदायमा स्वास्थ्य सचेतना र सेवाका लागि गरेका कामलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अगाडी बढ्न आग्रह गर्नुभयो । साधारण सभामा शेषकान्त देवकोटा, यमबहादुर कट्टेललाई स्वास्थ्य श्रष्टा सम्मानबाट सम्मान गरिएको थियो ।

संस्थाले ५ लाख बराबरको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएकोमा हालसम्म २ लाख बराबरको रकम जम्मा भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष अनिता पौडेल घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव खुमनाथ शर्माले सहजीकरण गर्नुभएको थियो ।