ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ६ को अध्यक्षमा भिमलाल शर्मा लामिछाने चयन

२०८२ माघ ९ शुक्रबार १६:४४:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ६ को साधारण सभा तथा दोस्रो अधिवेशन शुक्रबार गैंडाकोट ६ स्थित नमुना शिवनगर खानेपानीको सभाहलमा सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष भिमलाल शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ६ का वडाअध्यक्ष सुवास चापागाई रहनुभएको थियो । अध्यक्ष चापागाईले ज्येष्ठ नागरिकहरु ज्ञान, विवेकको खानी रहेको हुँदा उहाँको सम्मानस्वरुप राज्यले सेवासुविधा दिँदै आएको, ७० वर्ष कटेका वृद्धवृद्धाहरुको लागी स्वास्थ्य बिमा गराइनुका साथै उनीहरुको हेरचाह गर्दै आएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागी वडाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउनुभयो ।  


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक नगर संघ सदस्य लिलाधर पोखरेल, पूर्व वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।


अधिवेशनबाट भिमलाल शर्मा लामिछानको अध्यक्षतामा १३ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा कृष्णकुमारी पाध्याय, सचिवमा बेलप्रसाद पौडेल, कोषाध्यक्षमा दिननाथ कंडेल र सहसचिवमा शोभाराम सापकोटा रहनुभएको छ ।


समितिको सदस्यहरूमा दुर्गा ढकाल, चित्रबहादुर थापा, केशव सुवेदी, कलाधर सापकोटा, नुरप्रसाद चापागाई, खिमानन्द कंडेल, पूर्णप्रसाद पाध्याय र बिरेन्द्र गैरे  चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा प्रेम शर्मा रिजाल, नर प्रसाद गैरे र धनपती पाध्याय रहनुभएको छ । 


कार्यक्रमको ज्येष्ठ नागरिक वडा तथा नगर सदस्य प्रेम शर्मा रिजालले सहजीकरण गर्नुभएको थियोे । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । उहाँका अनुसार हालसम्म १२ वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको छ ।


निर्वाचन मण्डलबाट निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराइएको थियो । कार्यक्रममा स्वागत गितका साथै नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा १ सय २५ जना ज्येष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।