राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ को उत्कृष्ट ५ सार्वजनिक

२०८२ माघ १३ मंगलबार १८:५३:०० मा प्रकाशित

चितवन । ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा शुरु भएको राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ को उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धीहरुको नामावली सार्वजनिक गरिएको छ । प्रतियोगिताको उत्कृष्ट ५ मा ईशा थापा, निकेश न्यौपाने, निश्चल अधिकारी, रमेश भुर्तेल र सुनिल मरेटा रहेका छन् ।

 

‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ को समापन कार्यक्रम वाग्मती प्रदेशमा पर्ने चितवनको भरतपुर महानगरपालिका-७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा माघ १८ गते, आइतबार, बिहान ११:०० बजे गरिने भएको छ ।

 

नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै उक्त प्रतियोगिता आयोजना गरिएको हो । ‘अनलाइन सार्वजनिक वक्तृत्वकला प्रतियोगिता’ पहिलो चरणको लागि देशका ७७ वटा जिल्लाबाट सहभागि भएका मध्य उत्कृष्ट २० छनोट गरिएको थियो  ।  पहिलो चरणको लागि ‘अबको नेपालमा GEN-Z को भूमिका’ भन्ने विषयमा ३ मिनेटको भिडियो बनाउन लगाइएको थियो । यस्तै, प्रतियोगिताको दोस्रो चरणको लागि उत्कृष्ट २० मा पर्न सफल भएका प्रतिस्पर्धीहरुलाई ‘नेपालमा सामाजिक सञ्जाल अवसर कि अवगाल’ भन्ने विषयमा ५ मिनेटको भिडियो बनाउन लगाइएको थियो ।

त्यसपछि विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा ३ जना निर्णायकद्दारा मूल्यांकन गरेर उत्कृष्ट ५ छनोट गरिएको हो । ‘अनलाइन सार्वजनिक वक्तृत्वकला ’ मा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, कदर पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, कदर पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, कदर पत्र र मेडलद्दारा पुरस्कृत गरिने छ ।

 

उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट डटकम तथा ह्याप्पी एफ।एम। र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् । त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहलस् लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. (कावासोती, नवलपुर), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।