गैंडाकोटमा अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भ
गैंडाकोट । गैंडाकोटमा अपाङ्गता भएका व्यक्तिहरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भ भएको छ । गैंडाकोट नगरपालिकाको आयोजनामा मंगलबार गैंडाकोट-८ स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको हो ।
कार्यक्रम गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षता तथा उपप्रमुख शान्ती कोइरालाको प्रमुख आतिथ्यतामा भएको थियो । तालिममा प्रशिक्षक पार्वती सिग्देल र नर्मदा पाण्डेले सहभागीहरूलाई बैठक सञ्चालन प्रक्रिया, निर्णय अभिलेखीकरण तथा माइन्युट लेखन सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले नगरपालिकाले हालसम्म ७ सयभन्दा बढी अपाङ्गता परिचयपत्र वितरण गरिसकेको जानकारी दिनुभयो । बजेटको उपलब्धताअनुसार आवश्यक सामग्री वितरण गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले क्षमता अभिवृद्धि तालिमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगरपालिकाले यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सिक्दै-गर्दै अघि बढ्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

सहभागीकोतर्फबाट नवजीवन अपांगता समूहका अध्यक्ष खग्रेन्द्रमान थापाले अपांगता भएका व्यक्तिहरू पनि अन्य नागरिकसरह सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएको बताउनुभयो । उहाँले सरकारबाट प्रदान गरिँदै आएका उत्प्रेरणा, क्षमता अभिवृद्धि तथा आयआर्जनमुखी कार्यक्रमलाई स्थानीय तहबाट अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमको समापन गर्दै उपप्रमुख शान्ती कोइरालाले अपांगता भएका व्यक्तिहरू अरूमा निर्भर नभई आफैँ सक्षम बन्न आवश्यक रहेको बताउनुभयो । कतिपय अपांगता भएका व्यक्तिहरूले सफल रूपमा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले उनीहरूको कार्यको प्रशंसा गर्नुभयो । साथै आवश्यकता र व्यवसाय प्रवद्र्धनलाई स्थानीय सरकारसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अपांगता परिचयपत्र वितरण समन्वय समितिका सदस्य तथा कार्यपालिका सदस्य इश्वरी जीसी, कृष्ण गण्डकी माध्यमिक विद्यालय ढोडेनीका प्रधानाध्यापक सूर्यनाथ तिवारी, इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरी, आमन्त्रित सदस्य यमप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखाकी मिना सापकोटाले गर्नुभएको थियो ।