नवलपुरमा मुखमा जाल अड्किएको घडियालको उद्धार
नवलपुर । अति शङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट उद्धार गरिएको छ । मुखमा तियारी (खोलामा माछा मार्न प्रयोग हुने) जाल अड्किएको अवस्थामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीमा पर्ने अमलटारीघाटस्थित नारायणी नदीमा फेला परेको घडियालको स्थानीय बोटे समुदायको सक्रियतामा उद्धार गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले लगातार चार दिनको प्रयासपछि बुधबार दिउँसो गोहीको मुखबाट तियारी जाल हटाउन सकिएको जानकारी दिनुभयो । “स्थानीय गोपाल बोटेको सक्रियतामा निकुञ्जका कर्मचारी तथा स्थानीय बासिन्दाको सहयोगले चार दिनपछि भाले गोहीको उद्धार गर्न सफल भयौँ”, उहाँले भन्नुभयो, “मुखमा तियारी जाल बेरिएको थियो, जाल काटेर गोहीलाई नदीमा छाडिएको छ ।”
माछा मार्ने क्रममा नदीमा छोडिएको जाल गोहीको मुखमा बेरिएको हुनसक्ने थापामगरले जानकारी दिनुभयो । उद्धार गरिएको गोहीको स्वास्थ्य अवस्था राम्रो भएको भन्दै उद्धारमा संलग्न बोटे समुदायलाई उहाँले धन्यवाद दिनुभयो । बुधबार उद्धार गरेर नारायणीमा छोडिएको गोही वयस्क भाले घडियाल भएको उहाँको भनाइ छ ।
योसँगै यस वर्ष नारायणी नदीबाट चार वटा घडियाल गोहीको उद्धार गरिएको सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो महिना गरिएको स्थलगत घडियाल गोही गणनाको क्रममा नारायणी नदीमा दुई तथा राप्तीमा सात वटा गरी यस क्षेत्रमा नौ वटा भाले घडियाल गोही फेला परेका छन् ।
त्यस्तै नारायणीमा १ सय ३५ तथा राप्तीमा २ सय ३१ गरी निकुञ्जमा ३ सय ६६ वटा वयस्क घडियाल गोहीको गणना गरिएको थापा मगरले जानकारी दिनुभयो । निकुञ्जले प्राकृतिक वातावरणमा घडियाल गोहीको सङ्ख्या वृद्धि गर्न निकुञ्जको प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छोड्दै आएको छ ।
अति सङ्कटापन्न अवस्थाको घडियालसहितका वन्यजन्तु संरक्षणका लागि निकुञ्जले स्थानीय समुदायसँग साझेदारी गरेर कार्यक्रम गर्दै आएको छ । “संरक्षणमा स्थानीयलाई सचेत बनाउँदै सहभागी गराउँदा त्यसले सकारात्मक प्रतिफल दिने गरेको छ”, उहाँले भन्नुभयो, “समुदायको सहभागितामा संरक्षण कार्य अगाडि बढाउँदा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत टेवा पुग्दै आएको छ ।”
निकुञ्जले संरक्षणमा स्थानीयलाई अपनत्व ग्रहण गराउनेगरी विश्व सिमसार दिवसको अवसर पारेर सोमबारमात्रै स्थानीय बोटे समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडेको थियो । रासस