विजय सामुदायिक शिक्षा सदनमा अभिभावक मिनी म्याराथुन प्रतियोगिता सम्पन्न

२०८२ फाल्गुण ७ बिहीबार १५:५८:०० मा प्रकाशित

गैँडाकोट। विजय सामुदायिक शिक्षा सदनले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ५ किलोमिटर मिनी म्याराथुन (अभिभावक प्रतियोगिता) बिहीबार सम्पन्न गरेको छ। विद्यालयले अभिभावकलाई लक्षित गर्दै पुरुष र महिला गरी दुई विधामा प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, द्वितीयलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ। पुरस्कार वितरण भने भोलि शुक्रबार वार्षिकोत्सव समारोहका अवसरमा गरिनेछ।

पुरुष अभिभावकतर्फ नवीन श्रेष्ठ (चेस्ट नं. २९) २४ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। लोकबहादुर आले (चेस्ट नं. ४७) २६ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै द्वितीय तथा कमल भट्ट (चेस्ट नं. २६) २६ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्न सफल हुनुभयो।

त्यस्तै महिला अभिभावकतर्फ गीता सुवेदी (चेस्ट नं. ४५) ३५ मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभयो। शोभा सापकोटा (चेस्ट नं. ४७) ३७ मिनेटमा दूरी पार गर्दै द्वितीय तथा पुनम गुरुङ (चेस्ट नं. १७) ३७ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्न सफल हुनुभयो।

 

कार्यक्रममा बोल्दै शिक्षक गोपीनाथ खरेलले विगतका वर्षभन्दा फरक ढंगले वार्षिकोत्सव मनाउन लागिएको जानकारी दिनुभयो। प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै उहाँले विजेताहरूलाई बधाई ज्ञापन गर्नुभयो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण अभिभावकलाई वार्षिकोत्सव कार्यक्रममा अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभयो।