नारी दिवसमा कालिका महिला सञ्जालको शुभकामना आदानप्रदान कार्यक्रम
गैँडाकोट । गैँडाकोट ८ मा रहेको कालिका महिला सञ्जालले ११६ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आइतवार महिला दिदीबहिनीहरुसंग शुभकामना आदान प्रदान गरेको छ ।
गैंडाकोट ८ स्थित वडा कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका वडा सदस्य कमला अचार्यले पृथ्वीको एक सुन्दर पक्ष एक शक्तिको रुपमा नारी रहेको र सृष्टीकर्ता नै नारी भएको बताउदै नारीलाई घरभित्र, कार्यस्थल हरेक ठाँउमा सम्मानपुर्ण व्यवहार गर्न आग्रह गर्नुभयो । अझै पनि धेरै जसो घरभित्रै महिलामाथि घरेलु हिंसा हुने गरेको भन्दै उहाँले हिंसा भए निर्धक्कका साथ बताउन आग्रह गर्नुहुदै वार्डले हरेक असहज परिस्थितीमा महिला दिदीबहिनीलाई साथ दिने बताउनुभयो ।

कार्यक्रममा नारी कल्याण एकल महिला पैरवी मञ्चकि अध्यक्ष निर्मला पौडेलले एकल महिलालाई हेर्ने दृष्टिकोण अझै पनि बदलिन नसकेको बताउदै नारीले नारीमाथि नै हिंसा नगर्न, बरु एकले अर्कालाई सम्मान गर्न आग्रह गर्नुभयो ।
कालिका महिला सञ्जालका अध्यक्ष नर्मदा घिमिरेले सञ्जालले चेतना अभिवृद्धि, लैङ्गिक समानता एवम् महिलाको कार्यक्षमता विकासका लागी विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा वडासदस्य शुसिला परियार, त्रिदेव टोलका अध्यक्ष माधवी कट्रेल, कालिका महिला सञ्जालका संस्थापक कोषाध्यक्ष हिमा अर्याल, सल्लाहकार सदस्य फुलुमया पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्जालका पुर्व सचिव पद्मा सुवेदीले सहजिकरण गर्नुभएको थियो ।