मौलाकालि सिकाइ केन्द्रको आयोजनामा गैंडाकोटमा सिपमूलक तालिम सुरु
गैंडाकोट । मौलाकालि सामुदायिक सिकाई केन्द्र गैडाकोट ४ को आयोजनामा १५ दिने सिपमुलक तालिमको आजबाट सुरु भएको छ । हस्तकलाका विभिन्न सामाग्रीहरु उत्पादन गर्ने उद्देश्यले तालिमको सञ्चालन गर्न लागिएको हो ।
प्रौढ शिक्षा एवम् गृहणी कक्षा सञ्चालन गर्दै आएको यस सिकाई केन्द्रले सिपमुलक कार्यक्रम अन्तरगत गहुँको छ्वालीबाट हस्तकलाका सामग्रीहरू निर्माण गर्ने उद्देश्यले आयोजित उक्त उद्घाटन कार्यक्रम सिकाई केन्द्रको अध्यक्ष कमल प्रसाद पराजुलीको अध्यक्षतामा र गैंडाकोट नगरपालिकाको नगर उपप्रमुख शान्ति कोईरालाको प्रमुख आतिथ्यतामा भएको थियो ।
गैंडाकोटका नौवटा वडाहरूबाट सहभागिता जनाईएको सो १५ दिने तालिमको उद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख एवम् प्रमुख अतिथि शान्ति कोईरालाले सिपमूलक तालिमले महिला सशक्तिकरणमा सहयोग गर्ने भन्दै सिकेका कुरालाई व्यवसायसँग जोड्न आग्रह गर्नुभयो । उपप्रमुख कोईरालाले सिकाई केन्द्रको प्रशंसा गर्दै संस्थाको कार्यक्रममा सहयोग रहने विचार व्यक्त गर्नुभयो ।.jpg)
त्यस्तै, वडा नं ५ का वडाअध्यक्ष रत्नप्रसाद सापकोटाले तालिमबाट सिकेर उत्पादन गरिएको वस्तुहरुलाई बजारीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरी, कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले तालिमलाई व्यवसायसँग जोड्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनक नमुना मा.वि का प्रधानाध्यापक वुद्धि सागर पण्डितले तालिम लिनका लागि मात्रै नभएर आफ्नो क्षमतालाई उजागर गर्ने अवसर पनि भएकोले उपयोग गर्न आग्रह गर्नुभयो । सिकाई केन्द्रको कोषाध्यक्ष हिमाल देव पंगेनीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा वडा नं ४ का वडा सदस्य शान्ति भुजेल, वडा नं १ का वडा सदस्य लक्ष्मी चालिसे, जय श्री सामुदायिक वनका उपाध्यक्ष ढाका सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
जनक मा. वि को सभाहलमा भएको सो उद्घाटन कार्यक्रमको सिकाई केन्द्रका परिचालिका याममाया पुलामीले सहजीकरण गर्नुभएको थियो ।