नवलपुरमा एसइइ परिक्षामा ६ हजार ७ सय परिक्षार्थी सहभागि हुँदै
नवलपरासी पूर्व । यस वर्षको एसइइ परीक्षा चैत्र १९ गतेबाट सुरु हुँदैछ । एसइइ परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा विद्यार्थीले परीक्षा दिनेछन् । नवलपुरमा यो वर्ष ६ हजार ७ सय ६ जना विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष परीक्षा दिने छात्र भन्दा छात्राको सङ्ख्या १ सय १६ बढी छ ।
परीक्षामा सामेल कुल विद्यार्थीमध्ये ५ हजार ६ सय ९८ जना विद्यार्थीले नियमित परीक्षा दिन लागेका छन् । जसमा ५ हजार ५ सय २२ जना साधारणतर्फ रहेका छन् भने १ सय ७६ जना विद्यार्थी प्राविधिक धारका रहेका छन् । यस वर्ष १ हजार ८ जना विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सामेल हुँदैछन् । जसमा ९ सय ८९ जना साधारण तर्फका र १९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।
यस वर्षको एसइइ परीक्षामा ९२ वटा सामुदायिक विद्यालय र ५१ वटा संस्थागत विद्यालयका ६ हजार ७ सय ६ जना विद्यार्थीले परीक्षाको तयारी गरिरहेका छन् । सामुदायिक विद्यालयबाट ५ हजार १ सय १ जना, संस्थागत विद्यालयबाट १ हजार ६ सय ५ जना विद्यार्थी सहभागि हुँदैछन् । सामुदायिक भित्रकै तथ्यांकमा समावेश तीनवटा गुरुकुलका ३३ विद्यार्थी, आठवटा प्राविधिक धारका विद्यालयका १ सय ७६ विद्यार्थी र एउटा खुल्ला विद्यालयको ८७ विद्यार्थी रहेका छन् ।
एसइइ परीक्षा सञ्चालनका लागि नवलपुर जिल्लामा केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १ हजार ९२ जना जनशक्ति परिचालन हुँदैछन् ।
२८ जना केन्द्राध्यक्ष मध्ये २४ जना पुरुष र ४ जना महिला रहेका छन् । यो वर्ष एसइइ परीक्षामा सबैभन्दा धेरै विद्यार्थी शिव नमुना माध्यमिक विद्यालयबाट सहभागी हुँदैछन्, जहाँ २ सय ४७ जना विद्यार्थी रहेका छन् । यसैगरी सबैभन्दा कम विद्यार्थी सहभागी गराउने विद्यालयमा सिद्धि विद्याश्रम मावि बौदिकाली रहेको छ । जहाँबाट तीनजना विद्यार्थी मात्रै परीक्षामा सामेल हुँदैछन् ।
माध्यमिक शिक्षा परीक्षा एसइइ सञ्चालनका लागि यो वर्ष गैंडाकोट नगरपालिकामा चारवटा परीक्षा केन्द्र, देवचुली नगरपालिकामा पाँचवटा परीक्षा केन्द्र, कावासोती नगरपालिकामा सातवटा परीक्षा केन्द्र, मध्यबिन्दु नगरपालिकामा पाँचवटा परीक्षा केन्द्र, विनयी त्रिवेणी गाउँपालिकामा दुईवटा परीक्षा केन्द्र, हुप्सेकोट गाउँपालिकामा तीनवटा परीक्षा केन्द्र, बौदीकाली गाउँपालिकामा एउटा परीक्षा केन्द्र र बुलिङटार गाउँपालिकामा एउटा परीक्षा केन्द्र गरी २८ वटा परीक्षा केन्द्र रहेका छन् ।
एसइइको पूर्व तयारी अन्तर्गत सबै काम सकिएको र प्रश्नपत्र पु¥याउने काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका निमित्त प्रमुख सन्तोषि कुमारी भण्डारीले बताउनुभएको छ ।