श्री हनुमान मन्दिर समिति चक्राघाटको १३ औँ साधारण सभा सम्पन्न
गैंडाकोट । श्री हनुमान मन्दिर समिति चक्राघाटद्वारा आयोजित १३ औँ साधारण सभा तथा श्री हनुमान जयन्ती विशेष समारोह सम्पन्न भएको छ । कार्यक्रम बिहीबार गैंडाकोट–९, थुम्सीस्थित हनुमान मन्दिर परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइराला प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले मन्दिरको संरक्षण तथा विकासमा तन, मन र धनले सहयोग गर्ने सम्पूर्ण भक्तजनप्रति आभार व्यक्त गर्दै सबैमा भगवानको आशीर्वाद रहिरहोस् भन्ने शुभकामना दिनुभयो। साथै मन्दिरको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो।उहाँले धार्मिक स्थलहरूले समाजमा सद्भाव, सहिष्णुता र नैतिक आचरण विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी पुस्ताले पनि यस्ता सम्पदालाई संरक्षण गर्दै अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मन्दिर समितिका अध्यक्ष लिलाधर कँडेलले मन्दिरलाई धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले यस अभियानमा सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक, संघ–संस्था तथा सरकारी निकायप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा गैंडाकोट–९ का वडाध्यक्ष धामनाथ सापकोटा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने वडा नं. ७ का वडाध्यक्ष होमनाथ सापकोटा र वडा नं. ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
समारोहमा उपाध्यक्ष प्रेमबहादुर कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव उमा कुमारी पाण्डेले गर्नुभएको थियो।
हनुमान जयन्तीको अवसरमा विशेष पूजा–आराधना गरिएको थियो। कार्यक्रममा सहभागी भक्तजनहरूका लागि भोजनको व्यवस्था गर्ने सरलाल बालजी परिवारलाई सम्मान गरिएको थियो। साथै ५१ किलो लड्डु अर्पण गर्ने जोगिन्दर सिंहा लाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उल्लेखनीय संख्यामा भक्तजनहरूको समेत सहभागिता रहेको थियो।