जलुके र पम्पीङले कहाँ कहाँ राखेका छन् ? फायर हाइड्रेन्ट
नवलपरासी पूर्व । गर्मी लागेसँगै आगलागिका घटना बढ्न सक्छन् । गृहमन्त्रालयका अनुसार यस वर्ष देशैभर ८ सय ४४ वटा आगलागिका घटना घटेका छन् । जसका कारण ११ जनाको ज्यान गयो र १ सय १३ जना घाइते भए । ९ सय १७ घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित बन्यो ।
आगलागिका घटनामा क्षति बढ्नुमा विविध कारण हुन सक्छन् । यसमध्ये दमकलका लागि सजिलै पानीको उपलब्धता नहुनुले पनि क्षति बढ्न सक्छ । यस्ता अकल्पनिय घटनाबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न गैँडाकोटका खानेपानी संस्था सचेत छन् । गैँडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फायर हाइड्रेन्टको व्यवस्था गरेका छन् । गैँडाकोट पम्पिङले आफ्नो सेवा क्षेत्रमा ८ वटा स्थानमा फायर हाइड्रेन्टको व्यवस्था गरेको छ भने जलुकेले ३ वटा स्थानमा राखेको छ ।
फायर हाइड्रेन्ट भनेको आगलागी हुँदा दमकलले तुरुन्त पानी लिन सक्ने गरी सडक वा सार्वजनिक ठाउँमा जडान गरिएको विशेष पानीको आउटलेट हो । यो एउटा पाइप प्रणालीसँग जोडिएको नल जस्तै हुन्छ, जसबाट दमकलले पाइप जोडेर ठूलो मात्रामा पानी निकालेर आगो निभाउँछन ।
प्रायः सडक छेउमा देखिन्छ । यो रातो रंगको हुन्छ । यो पानी आपूर्ति लाइनसँग सिधै जोडिएको हुन्छ । दमकल कर्मचारीले छिटो प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएको हुन्छ । आगो लाग्दा दमकलले आफ्नै ट्यांकीको पानी सकिएपछि यहींबाट निरन्तर पानी लिन्छ ।
गैँडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रका ८ वटा स्थानमा फायर हाइड्रेन्टको व्यवस्था गरेको छ । गैँडाकोट पम्पीङले गैँडाकोट ४ को कार्यालय परिसरमा, संगम बचत नजिक गैँडाकोट १, कपास फेक्ट्री नजिक गैँडाकोट १, इलाका प्रहरी कार्यालय नजिक गँैडाकोट २, साविक सरस्वती प्रावि परिसर गैँडाकोट ५, विकू सहकारी नजिक गैँडाकोट ८, करङघारी गैँडाकोट ८ मा र गैँडाकोट नगरपालिकाको कार्यालय गैँडाकोट ५ मा फायर हाइड्रेन्टको व्यवस्था गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।
भिडियो रिपोर्ट हेर्नुहोस
विपत् जतिबेला पनि आइपर्न सक्छ, तर पूर्व तयारी भने समयमै गर्नुपर्दछ भन्ने मान्यताका साथ जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले फायर हाइड्रेन्टको व्यवस्था गरेको छ । संस्थाका अध्यक्ष जगन्नाथ पौडेललका अनुसार जलुके खानेपानीले श्रीमद्रामानुज वेदविद्याश्रमको गेटमा, मौलाकाली फेदी, केवलकार जाने बाटोमा र नवदुर्गा आधारभूत विद्यालयनजिक गरि तीन स्थानमा फायर हाइड्रेन्ट राखेको छ ।
गर्मी बढेसँगै आगलागीका घटना पनि बढ्दो क्रममा रहेका बेला यस्ता विपद् व्यवस्थापनमा पूर्वतयारी अत्यन्तै महत्वपूर्ण देखिन्छ । दमकलका लागि सहज रूपमा पानी उपलब्ध गराउने उद्देश्यले गैँडाकोटका खानेपानी संस्थाहरूले विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान गर्नु सकारात्मक र दूरदर्शी पहल हो । यसले आकस्मिक आगलागीका घटनामा समयमै नियन्त्रण गर्न सहयोग पुग्ने मात्र नभई जनधनको क्षति न्यूनिकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।