दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग
चितवन । साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवरद्धन हुने अपेक्षा गरिएको छ ।
सरकारले यसअघि छोटो समयका लागि गरेको दुई दिन बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको थियो । सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिएको छ । इन्धनको खपत घटाउने भएकाले यो बिदामा पर्यटकको आगमन धेरै नबढे पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने व्यवसायीहरु बताउनछन् ।
दुई दिन बिदा हुँदा कम्तीमा एक रात र दुई दिनको छोटो प्याकेज लिएर आन्तरिक पर्यटक हिँड्न पाउने छन् । क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराई इन्धन खपत घटाउन खोजिएकाले अहिले ठूलो प्रभाव नभए पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “साताको दुई दिन बिदालाई दीर्घकालीन बनाउन सरकारसँग हामीले आग्रह गर्दै आएका हौँ ।” आफू सङ्घको अध्यक्ष हुँदा यस विषयमा धेरै पहलकदमी भएको जनाउँदै उहाँले अहिलेको सरकारले यसलाई निरन्तरता दिन्छ भन्नेमा आशावादी रहेको पनि बताउनुभयो ।
जिल्लाको सौराहा, पटिहानी, मेघौली, भरतपुरलगायतका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । दुई दिन बिदा हुँदा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु घुम्न आउन सहज हुन्छ । रासस