नयाँ वर्षको शुभकामना
नफेर पुरानो चोली बरू
नफेर सारी र मजेत्रो पनि
संकीर्ण सोच फेरेर आउ
निस्पट्ट अँध्यारो चिर्ने गरि
कुण्ठित नजर बदलेर आउ
प्रिय नयाँ वर्ष
दुरदराजका घाउहरुमा
मल्हम बनेर आउ
छाउपडीको अँध्यारोभित्र
चेतनाको कलम बनेर आउ
बल्न नसकेका चुल्होहरुमा
कसौंडी भरिको भात बन्नु
चुहिएका छानोहरुमा
शीर जोगाउने ओत बन्नु
निरासाका घडाहरुमा मिठो आशा भरेर आउ
उद्देश्य प्राप्तिको सुनौलो परिभाषा बनेर आउ
खडेरीहरुमा बसन्तको रंगीन बहार छरिदेउ
उराठिला मनमा नयाँ मिठो प्यार भरिदेउ
अभावका भकारीहरूमा
मुठ्ठी बनेर थपिनु
अन्यायका भुमरीहरुमा
न्याय बनेर भित्रिनु
प्रिय नयाँ वर्ष
तिमी शानले आउनु
नयाँ सोच बोकेर
आत्मसम्मानले आउनु