विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राखौँ : शिक्षामन्त्री पोखरेल

२०८३ बैशाख ८ मंगलबार १६:५९:०० मा प्रकाशित

उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सुस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा मङ्गलवार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीति समाज निर्माणका लागि आवश्यक भए पनि यसको प्रयोग उचित स्थान र सन्दर्भमा हुनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउँदै उहाँले पदाधिकारीहरू समेत राजनीतिक दलदलबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री पोखरेलले शिक्षा केवल डिग्रीमा सीमित नभई व्यावहारिक, पेसामुखी र सीपसँग जोडिएको हुनुपर्ने बताउनुभयो । ज्ञानको अभाव नरहेको उल्लेख गर्दै उहाँले प्राप्त ज्ञानलाई सीप र पेसासँग कसरी जोड्ने भन्ने विषय नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । संस्थागत सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीलाई आफ्नो ज्ञान र सीप देशको समृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

वैज्ञानिक आविष्कारले विश्वलाई साँघुरो बनाइरहेको सन्दर्भमा त्यससँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नु अबको शैक्षिक आवश्यकता रहेको उहाँले बताउनुभयो । मन्त्री पोखरेलले विद्यार्थीहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगार सिर्जना गर्ने सोच विकास गर्न प्रेरित गर्दै भन्नुभयो, “देशको समृद्धिको यात्रामा तपाईँहरू पनि सँगसँगै लाग्नुपर्छ ।” विश्वविद्यालय डिग्री वितरण गर्ने संस्था मात्र नभई नीति निर्माण र अनुसन्धानको केन्द्र बन्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्चका निर्देशक प्रा.डा.विवेक लालले समाज नै शिक्षाको पहिलो पाठशाला भएको बताउनुभयो । लामो समयदेखि नेपाली विद्यार्थीलाई अध्यापन गराउँदै आए पनि नेपालमा पहिलो पटक उपस्थित हुन पाउँदा खुसी लागेको अनुभव सुनाउँदै उहाँले श्रम र शिक्षाबिचको सम्बन्धमा जोड दिनुभयो । जतिसुकै डिग्री लिए पनि शिक्षा व्यावहारिक र सीपमा आधारित नभए त्यसले उत्पादनसँग जोड्न नसक्ने उहाँको तर्क थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु कुमार थपलियाले विश्वविद्यालयलाई केवल भौतिक संरचनाका रूपमा मात्र नबुझ्न आग्रह गर्दै शैक्षिक संस्थाहरू समाजको आधारभूत जरा जस्तै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

विश्वविद्यालयका अनुसार वि.सं. २०८२ पुस १६ सम्म एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेका ६ हजार ७०६ विद्यार्थीमध्ये मङ्गलवार ४ हजार ६५२ जना प्रत्यक्ष रूपमा दीक्षित भएका छन् । सङ्कायगत रूपमा कलातर्फ १८४, शिक्षातर्फ ९९८, कानुनतर्फ ६२२, व्यवस्थापनतर्फ २ हजार २६४, मेडिकल तथा एलाइडतर्फ ६२४, इन्जिनियरिङतर्फ १ हजार २६२ र विज्ञान तथा प्रविधितर्फ ७४७ विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित हुनेमध्ये ५ जनाले एमफिल, १ हजार ४१३ जनाले स्नातकोत्तर र ५ हजार २८८ जनाले स्नातक तहको उपाधि प्राप्त गरेका छन् । विभिन्न सङ्कायमा उत्कृष्ट प्रदर्शन गर्ने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेल, प्रमुख अतिथि प्रा. डा. लाल र उपकुलपति प्रा.डा. थपलियाले स्वर्ण पदक प्रदान गर्नुभयो ।