राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चितवन । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक वर्ष चैतमा गुँड खोजेर वैशाखमा ती गुँडबाट अण्डा संकलन गरिन्छ । अहिले गुँड पहिचानको काम सकिएको छ भने अण्डा संकलनको काम यही वैशाख १० गतेदेखि सुरु गरिने छ । गुँडमा रहेका अण्डा संकलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने निकुञ्जका सूचना अधिकारी थापा मगरले जानकारी दिनुभयो ।
यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको हो । निकुञ्जको प्रजनन केन्द्रमा गोहीको अण्डाबाट चल्ला निकालिएपछि ती चल्ला हुर्काएर पुनः नदीमा छोड्ने गरिन्छ । रासस