गैँडाकोट–८ मा नेकपा वडा कमिटीद्वारा निर्वाचन समीक्षा तथा नववर्ष २०८३ को शुभकामना आदान-प्रदान
गैँडाकोट । नेपाली कम्युनिष्ट पार्टी गैँडाकोट-८ वडा कमिटी, नवलपुरद्वारा २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको वडा स्तरीय समीक्षा तथा नव वर्ष २०८३ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार वडा नं. ८ स्थित नव विजय समूहको भवनमा आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धनप्रसाद सापकोटाले जनताको मनोबल बुझ्नका लागि पहिले आफूहरूको मनोबल उच्च बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा भएका सकारात्मक कामहरूको स्मरण गर्दै जनताप्रति विश्वास जगाउन अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै उहाँले नव वर्ष २०८३ को अवसरमा सम्पूर्ण कमिटीलाई शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष धनबहादुर घिसिङले वडा नं. ८ को कमिटी कार्यालय, नगर अध्यक्ष, प्रदेश तथा वडा अध्यक्षसमक्ष समीक्षा प्रतिवेदन र निर्वाचन खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो। त्यस्तै बेलबहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा ज्येष्ठ सदस्य खुमाकान्त पौडेल, मोतिलाल कँडेल, राजकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य मित्रशरण विहानी, केन्द्रीय सदस्य टिकाराम पौडेल, धन बहादुर गुरुङ, प्रदेश सदस्य रेशम गुरुङ लगायत रहनुभएको थियो। साथै क्रियाशील सदस्यहरू भिमबहादुर परियार, समाजसेवी उदयप्रसाद रिजाल, अर्जुन परियार, माधव आचार्य लगायतको पनि उपस्थिति रहेको थियो।
ने.क.पा. वडा कमिटी अध्यक्ष छविलाल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव फूलबहादुर लामाले गर्नुभएको थियो।