सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा.शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जालमा चिकित्सकले गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारण भ्रममा पर्नुका साथै गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर क्षति पुग्ने सम्भावना उच्च हुने भएकाले चिकित्सकलाई त्यस्तो कार्य नगर्न काउन्सिलले अनुरोध गरेको हो ।
काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ । काउन्सिलले बिरामीसँग सम्बन्धित श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न र गर्नुपर्ने अवस्था भएका बिरामीको अनुहार र पहिचान नखुलाउन आग्रह गरेको छ ।