गैंडाकोट वडा नं ६ ले मातातीर्थ औंसीमा जेष्ठ नागरिकलाई गर्यो सम्मान

२०८३ बैशाख ४ शुक्रबार १२:५८:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ६ ले वडामा रहेका जेष्ठ नागरिकलाई झुल वितरण गरेको छ । शुक्रबार माता तीर्थ औँसीको अवसर पारेर वडामा रहेका ७४ वर्ष भन्दामाथिका १२० जेष्ठ नागरिकलाई झुल वितरण गरेको हो।

गर्मी मौसम सुरु भएसँगै लामखुट्टे बढ्ने भएकोले जेष्ठ नागरिकहरुलाई विभिन्न रोगबाट बच्नको लागि झुल वितरण गरिएको गैंडाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुभाष चापागाईंले बताउनुभयो। वडाध्यक्ष चापागाईंले जेष्ठ नागरिकको खुसी नै हामी सबैको खुसी भएको बताउनुभयो।

 वडाबाट माता तीर्थऔंशीको दिन जेष्ठ नागरिकको घर घरमा पुगेर झुल दिएकोमा जेष्ठ नागरिक खुसी हुँदै वडालाई धन्यवाद दिएका छन्। कार्यक्रममा गैंडाकोट वडा नम्बर ६ का जनप्रतिनिधि, जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।