चितवनका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप

२०८३ बैशाख १४ सोमबार १७:१५:०० मा प्रकाशित

चितवन । चितवन जिल्लाका ३० हजार पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । त्यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो ।


पशु सेवा कार्यालय चितवनका प्रमुख डा.प्रभात न्यौपानेका अनुसार खोप कार्यालयमा ल्याएर पालिकालाई वितरणको काम सुरु गरिएको छ । जिल्लाका सातै पालिकालाई खोप वितरण गरी लगाइने बताउँदै गर्मीयाममा लामखुट्टे, झिँगालगायतको टोकाइबाट हुनसक्ने सङ्क्रमणका कारण पनि यो रोगको जोखिम देखिने गरेकाले रोकथामका लागी खोप लगाउन लागिएको न्यौपानेले जानकारी दिनुभयो ।


उहाँका अनुसार गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाक भित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

 

रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रासस