अक्सफोर्ड सेकेन्डरी स्कूल ÷कलेजमा OCEM SEE Fest 2026 सञ्चालन हुने
नवलपुर । गैंडाकोट-२ स्थित अक्सफोर्ड सेकेन्डरी स्कूल÷अक्सफोर्ड कलेजले OCEM SEE Fest 2026 आयोजना गर्ने भएको छ। एसइइ परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रम वैशाख २२, २३ र २४ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
“आवर भिजन इज टु सर्भ योर मिसन” भन्ने नारासहित हुन लागेको महोत्सवमा एसइइ दिएका विद्यार्थी तथा उनीहरूका साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । कार्यक्रममार्फत विद्यार्थीहरूलाई मनोरञ्जनसँगै सिकाइ, नेटवर्किङ र प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।
अक्सफोर्ड कलेजका प्रचार्य प्राध्यापक इन्जिनियर डाक्टर हरी भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आत्मविश्वास विकास, सिर्जनात्मकता अभिवृद्धि र सहकार्यको भावना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महोत्सवमा बास्केटबल, फुड स्टल, क्विज प्रतियोगिता, ‘रिल इट’ (फोटोग्राफी÷भिडियो) र नृत्य प्रतियोगिता जस्ता विविध गतिविधिहरू समावेश गरिने छन् । बास्केटबलतर्फ विजेताले १२ हजार रुपैयाँ र उपविजेताले ६ हजार रुपैयाँसहितMVP ट्रफी प्राप्त गर्नेछन् । क्विज प्रतियोगितामा तीन सदस्यीय समूह सहभागी हुन सक्नेछन्, जसमा विजेतालाई ५ हजार र उपविजेतालाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, ‘रिल इट’ विधामा विजेतालाई १२ हजार रुपैयाँ तथा नृत्य प्रतियोगितामा समूह र एकल दुवै विधामा विजेतालाई १२ हजार र उपविजेतालाई ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न परिकारसहितको फुड स्टल पनि रहनेछ ।