गोपेश्वर महादेव मन्दिर सेवा समितिको ३३औँ साधारण सभा सम्पन्न

२०८३ बैशाख २१ सोमबार १९:१२:०० मा प्रकाशित

गैंडाकोट । गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समिति गैंडाकोटको ३३ औँ वार्षिक साधारण सभा सोमबार मन्दिर परिसरमा सम्पन्न भएको छ।


गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ती कोइराला प्रमुख अतिथि रहनुभएको थियो ।  कार्यक्रममा बोल्दै उपमेयर कोइरालाले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मन्दिर क्षेत्रको व्यवस्थित विकास, धार्मिक पर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको सहभागितामूलक योगदानले नगरको समग्र पहिचान मजबुत बन्ने धारणा व्यक्त गर्दै आफ्नो पालिकाबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभयो ।


सभामा आर्थिक वर्ष ०८१÷८२ को वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम सेवा समितिका सचिव नेत्र प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी, कोषाध्यक्ष कृष्णप्रसाद कोइरालाले चालु आर्थिक वर्षको आय-व्यय विवरण तथा आगामी वर्षका लागि प्रस्तावित बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक गोपाल अधिकारीले प्रस्तुत गरेको सभामा सेवा समितिलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा आजीवन सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो ।


सेवा समितिका अध्यक्ष वेदप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष गौडेलले मन्दिरको संरक्षण, पूर्वाधार विकास तथा धार्मिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित संस्था अघि बढिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा स्थानीयवासी, दाता तथा सरोकारवालाहरूको सहकार्यबाट मन्दिरलाई धार्मिक आस्था केन्द्रका रूपमा अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।