भृकुटी कागज कारखाना व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग
गैंडाकोट । नवलपुरको गैंडाकोटस्थित भृकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ । सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान’ले सोमबार नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई ज्ञापन पठाइएको हो ।
अभियानका संयोजक गणेश सापकोटाका अनुसार भृकुटी कागज कारखानामा कार्यरत ३ सय ३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक (करिब ४० करोड रुपैयाँ) तत्काल राज्यको पहलमा भुक्तानी गर्न, करिब ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमूना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाई कार्यान्वयन गर्न माग गर्दै ज्ञापन बुझाइएको हो । आफूहरुले बुझाएका मागहरुका बारेमा पाँच दिनभित्र सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु अगाडि सारिने संयोजक सापकोटाको भनाई छ ।

ज्ञापनपत्रमा २०४० सालतिर स्थापना भई सञ्चालनमा आएको कारखाना २०७६ सालदेखि पूर्ण रूपमा बन्द भएको जनाइएको छ । “हाम्रो उद्देश्य द्वन्द्व सिर्जना गर्नु नभई गैंडाकोटलाई सफा, सुन्दर, हरियाली र समृद्ध बनाउनु हो,” अभियानले जनाएको छ ।
उक्त ज्ञापनपत्र गैंडाकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय कावासोती, जिल्ला प्रहरी कार्यालय कावासोती, भृकुटी कागज कारखाना (गोल्छा कम्पनी) र वडा नं. २ को कार्यालयमा समेत बोधार्थ पठाइएको छ।