कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न सरकारको निर्देशन

२०८३ जेठ ६ बुधबार १७:४४:०० मा प्रकाशित

काठमाण्डौं । सरकारले आगामी असार १ गतेदेखि नै कक्षा ११ को पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै जानकारी गराएको हो । शैक्षिक सत्र २०८२ को एसईईको नतिजा सार्वजनिक भइसकेकाले नयाँ शैक्षिक सत्रको पढाइ असारको पहिलो दिनदेखि नै सुरु गराउन सबै विद्यालयहरूमा सूचना प्रवाह गर्न भनिएको छ ।

 

विगतका वर्षहरूमा एसईईको नतिजा आउन सामान्यतया ३ महिनासम्म लाग्ने गरेको थियो । तर, यस वर्ष कार्यपद्धतिमा सुधार गर्दै मात्र १ महिनाभित्रै नतिजा प्रकाशन गरिएकाले कक्षा ११ को पढाइ पनि चाँडै सुरु हुन लागेको हो ।