लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको सम्भावनाः तापक्रम ४० डिग्री नाघ्न सक्ने
काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिन अत्यधिक गर्मी हुने र तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात् तातो हावाको लहरको चेतावनी जारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले आजदेखि पर्सिसम्म दिउँसोको समयमा अत्यधिक गर्मी हुने बताएको छ । अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी र कैलाली गरी ६ वटा जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ । यस्तै कपिलबस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक जिल्लाको सूचीमा राखिएको छ ।