ओली, लेखक र गुरुङलाई कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जेनजी आन्दोलनमाथिको दमनमा दोषी ठहर्याएको छ । उनीहरुले मानवअधिकार उल्लंघन गरेको आयोगले तयार गरेको जेनजी आन्दोलनसम्वन्धी प्रतिवेदनमा ठहर गरिएको हो । निजहरुलाई मानव अधिकार उल्लंघनको विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
मानवता र मानवअधिकार कसुरमा पाश्चात्यदर्शी कानून बनाएर पनि सजाय गर्न सकिने भनि सर्वोच्च अदालतले सिद्दान्त प्रतिवेदन गरिसकेको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा उक्त कानूनमा के के प्रावधान राख्ने भनेर पनि सिफारिस गरिएको छ ।
जसअनुसार बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था राख्न सुझाइएको छ । यस्तै, राजनीतिक नियुक्ती वा निर्वाचित हुने जुनसुकै पदमा कम्तिमा ५ वर्षसम्मका लागि उम्मेदवार हुन नमिल्ने व्यवस्था गर्न, प्रशासनिक जिम्मेवारीमा कम्तीमा ३ वर्षसम्मका लागि बन्देज लगाउन, विदेश भ्रमणमा जान कम्तिमा ३ वर्षसम्म प्रतिवन्ध लगाउने लगायत व्यवस्थाको सुझाव दिइएको छ ।