माडीमा गणतन्त्र दिवस विशेष संस्कृति उत्सव २०८३ हुँदै
चितवन । चितवनको माडीमा गणतन्त्र दिवसको अवसरमा “गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव-२०८३” आयोजना हुने भएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रम जेठ १५ गते दिउँसो ३ बजेदेखि बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुनेछ ।
माडीको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने उत्सवमा थारु, मगर, तामाङ, गुरुङ, नेवार, चेपाङ, राई, दराई लगायत विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति रहनेछन् । साथै पञ्चेबाजा, सारङ्गी, भजन, स्वस्तिवाचन तथा स्थानीय कलाकार र विद्यालयका लोकदोहोरी गीत-नृत्य समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । कार्यक्रमअघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकीसहित परिक्रमा गरिनेछ भने विभिन्न जातजातिका मौलिक परिकारसहित “मौलिक खाना पर्व” पनि आयोजना हुनेछ ।