उत्पादनमूलक सहकारीहरूका लागि व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम सम्पन्न
अरुणखोला (नवलपरासी) । नवलपरासीको मध्यविन्दु नगरपालिका-११, अरुणखोलामा उत्पादनमूलक सहकारी संस्थाहरूका लागि आयोजित तीन दिने “व्यवसायिक योजना तर्जुमा तथा क्षमता विकास तालिम” आज समापन भएको छ ।
“उद्यमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ गत जेठ १५ गतेदेखि सुरु भएको उक्त तालिम आज समापन भएको हो। गण्डकी प्रदेश, पोखरास्थित सहकारी रजिस्ट्रारको कार्यालयको आयोजनामा तथा दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, नवलपरासी (ब.सु.पु.) को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न उत्पादनमूलक सहकारीका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष तिलक प्रसाद पराजुलीले सहकारीहरू अब परम्परागत ढङ्गले मात्र नभई आधुनिक र व्यावसायिक योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्षमता विकासले सहकारीको आन्तरिक सुशासन र पारदर्शिता मजबुत बनाउने बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव श्याम सुन्दर लामिछाने, नवलपुर दुग्ध उत्पादक सहकारी संघकी उपाध्यक्ष सिता पोख्रेल गैह्रे तथा हरिनारायण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष धनपति भण्डारी लगायतले तालिममा सिकेका सीपलाई व्यावहारिक रूपमा संस्थाको हितमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
सहभागीहरूको तर्फबाट हरिनारायण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ज्ञानेन्द्र पाण्डेले तालिम अत्यन्तै समयसान्दर्भिक र फलदायी रहेको बताउनुभयो। उहाँले आगामी दिनमा संस्थाको व्यावसायिक योजना बनाउन यस तालिमले महत्वपूर्ण मार्गनिर्देश गरेको उल्लेख गर्दै आयोजकप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालले सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरी तालिमको औपचारिक समापन गर्दै सहकारी क्षेत्रमा पारदर्शिता र उद्यमशीलता विकास गर्न राज्यकातर्फबाट यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।