विदेशबाट फर्केकालाई गैँडाकोट नगरपालिकाले निःशुल्क उद्यमशीलता विकास तालिम दिने
नवलपरासी पूर्व । गैँडाकोट नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गर्न लागिएको हो। तालिममा ५० जना सहभागीलाई समेटिनेछ भने तालिम सञ्चालन मिति पछि तय गरिने जनाइएको छ।
गैँडाकोट नगरपालिकाभित्र स्थायी बसोबास गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकले आगामी २०८३ जेठ २५ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनका आधारमा सहभागी छनोट गरिने नगरपालिकाले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले राहदानीको प्रतिलिपि, वैदेशिक रोजगारीमा गएको पुष्टि हुने कागजात श्रम स्वीकृति, भिसा आदि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा लाभग्राही सूचीकृत फाराम पेश गर्नुपर्नेछ।
आवेदन फाराम गैँडाकोट नगरपालिकाको रोजगार सेवा केन्द्रबाट प्राप्त तथा पेश गर्न सकिनेछ। थप जानकारीका लागि रोजगार सेवा केन्द्रको सम्पर्क नम्बर ९८४५४७२१११ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
नगरपालिकाका अनुसार तालिमले विदेशबाट फर्किएका नागरिकलाई आफ्नै ठाउँमा उद्यम स्थापना तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
